भरतपुरलाई शैक्षिक गन्तव्यको रुपमा बिकास गर्नु आजको आवश्यकता: उप-प्रमुख अधिकारी

भरतपुर – भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई शैक्षिक रुपमा बिकास गर्नु पर्ने औंल्याएका छन् ।
नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सवको अवसरमा आयोजित अभिभावक रेखदेख तथा प्रतिवद्धता कार्यक्रममा उनले सो कुरा बताएका हुन् । २१ औं शताब्दीमा शिक्षा बिना बिकास सम्भब नभएको भन्दै उप प्रमुख अधिकारीले भरतपुरलाई शैक्षिक गन्तव्यको रुपमा बिकास गर्नु आजको आवश्यकता भएको तर्क राखे ।
उनले नारायणी नमूनाले चितवनको शैक्षिक इतिहासको साखलाई जोगाएको पनि बताए । ‘चितवनको शैक्षिक इतिहासको साखलाई नारायणी नमूना माविले बचाएको छ’, उनले भने । उनले नारायणी नमूना जिल्ला कै उत्कृष्ट र गर्विलो विद्यालय भएको टिप्पणी पनि गरे ।


यसैबीच उप प्रमुख चित्रसेन अधिकारीले सामुदायिक विद्यालयहरुको समाजका ऐना भएको बताएका छन् । सामुदायिक विद्यालय समाजको गहना भएको भन्दै यसलाई जोगाइ राख्नु सबैको दायित्व भएको उनको भनाइ थियो ।
राष्ट्रिय आधारभूत विद्यालय भरतपुर ४ को ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै उप प्रमुख अधिकारीले शिक्षा र स्वास्थ्य सँगै भरतपुर महानगरलाइ देशकै उत्कृष्ट महानगर बनाउने अभियानमा नचुक्ने पनि अठोट गरे ।
अभिभावक दिवसमा मात्रै स्कुललाई सम्झना गर्ने परिपाटी कै कारण सामुदायिक विद्यालयहरुको अवस्था दिनानुदिन दयनीय बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । सामुदायिक विद्यालयको शैक्षिक उन्नति र स्तरोन्नतिका लागि महानगर सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
तपाइँको प्रतिक्रिया