ऋण चुक्ता गर्न ऋणीलाई चन्द्रदर्शनको १५ दिने सार्वजनिक सूचना

चितवन – भरतपुर महानगरपालिका ३ कमलनगरस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरुलाई ऋण चुक्ता गर्न १५ दिने सार्वजनिक सूचना निकालेको छ ।
सहकारीले सोमबार उक्त सूचना निकालेको हो । ऋणीहरुले सहकारीबाट बिभिन्न शिर्षकमा ऋण लिएर भुक्तानी तालिका बमोजिम तोकिएको समय भित्र सावाँ ब्याज नबुझाएको र बारम्बार मौखिक तथा लिखित रुपमा जानकारी गराउँदा समेत शर्त कबुलियत उल्लंघन गरेको भन्दै सार्वजनिक सूचना निकालिएको हो ।
सूचनामा १५ दिन भित्र संस्थामा सम्पर्क राखी सम्पूर्ण साँवा, ब्याज, हर्जना र अन्य दै-दस्तुर बुझाई ऋण चुक्ता फर्छ्यौट गर्न आग्रह गरिएको छ । तोकिएको समयसीमा भित्र ऋण चुक्ता फर्छ्यौट नगरे संस्थाको नियमानुसार ऋणीले दिएको धितोपत्र लिलाम गर्न ऋणीको तीन पुस्ते विवरण फोटोसहित राष्ट्रिय दैनिक पत्रीकामा सार्वजनिक गरिने सूचनामा भनिएको छ ।


धितो तथा व्यक्तिगत जमानतकर्ताको लिलाम बिक्रीबाट प्राप्त रकमले ऋण चुक्ता नभए ऋणी तथा धनजमानी दिने व्यक्तिको एकाघर परिवारको चल-अचल सम्पत्तिबाट कानुन बमोजिम रकम असुल गरिने सहकारीका प्रमुख कार्यकारी अधिकृत राजन पौडेलले बताए ।ऋणीले ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानमा समस्या भइरहेको उनले बताए । ‘थोरै भएकाहरुलाई त हामीले बाँडिसक्यौं । ऋण धन गरेर भए पनि बचतकर्तालाई भुक्तान गरेका छौं’, उनले भने, ‘ठूलो रकम भुक्तानीमा समस्या भइरहेको छ ।’
उनका अनुसार सहकारीले बजारमा १९ करोड ऋण लगानी गरेको छ भने बचतकर्ताको १८ करोड भुक्तानी गर्न छ । ऋणीले बिभिन्न बाहानामा ऋण चुक्ता गर्न आलटाल गर्दा समस्या निम्तिएपछि वाध्य भएर सार्वजनिक सूचना जारी गर्न परेको उनको भनाइ छ ।
तपाइँको प्रतिक्रिया