गैंडाकोटको विजय आधारभूतका शिक्षकले रक्सी पिएर छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप
चितवन – वनभोजका क्रममा विद्यार्थीलाई यौन दुव्यवहार गरेको आरोपमा नवलपुरको गैंडाकोटका तीन जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले गैंडाकोट ८ स्थित विजय आधारभूत विद्यालयका तीन जना शिक्षकहरु कृष्ण सापकोटा, मदन भट्टराई र कुमार सापकोटालाई आज (सोमबार) नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख, प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठका अनुसार पौष ९ गते शनिबार विद्यालयबाट शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु चितवनको कंकाली डाँडा वनभोज गएका थिए ।
सोही क्रममा तीन जना शिक्षकले मदिरा सेवन गरेर छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप छ । विद्यार्थीहरुले मदिरा पिएर शिक्षकले संवेदिनशिक अंगमा छुने जस्ता दुर्व्यवहारको आरोप लगाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आइतबार सार्वजनिक विदा रहेकोले विद्यार्थीहरुले सोमबार विद्यालयमा नाराबाजी गरेका थिए ।
तिनै शिक्षकविरुद्ध किटानी जाहेरी दिने तयारीमा अभिभावकहरु रहेका छन् । घटना चितवनमा घटेकोले जाहेरी प्राप्त भएपछि अनुसन्धानका लागि चितवनतर्फ नै पठाईने उनले बताए । यसका लागि जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय भइरहेको उनले बताए । केही दिन अघि मात्रै छात्रालाई यौन दुर्व्यवहारको आरोपमा चितवनको अरोमा कलेजबाट शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
तपाइँको प्रतिक्रिया