अर्थतन्त्र सुधारोन्मुख रहेको अर्थमन्त्री शर्माको दाबी

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । अर्थमन्त्रालयमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेकाले अर्थतन्त्रमा केही चाप रहेको बताए ।
कार्यकाल सम्पन्न गरी बिदाई हुन लागेका उनले रुस–युक्रेन युद्धले नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव पारेको बताए । आयातमा प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने चाप रहेको उनले स्वीकार गरेका छन् । राजस्व कमी हुँदा चुनौती यथावत रहेको उनको भनाइ छ ।
कात्तिक मसान्तसम्म १८ प्रतिशतले आयात र व्यापार घाटा १६ प्रतिशत कम भएको उनले उल्लेख गरे । शोधनान्तर स्थिति २० अर्बले बचतमा रहेको जानकारी गराउँदै विप्रेषण आप्रवाहमा समेत सुधार भएको उनले बताए । विदेशी मुद्राको सञ्चितिमा समेत सुधार भएको शर्माले बताए ।


तपाइँको प्रतिक्रिया