राज्यकै एउटा निकायले निर्माण अनुमति दिएर अर्कोले भत्काउनु लज्जास्पद: उवासंघ चितवन

चितवन – उद्योग वाणिज्य संघ चितवनले सडक विस्तारको नाममा नारायणगढका नक्सापास एवं निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त व्यवसायिक भवनमाथि डोजार चलाईएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।
संघले आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत सडक डिभिजन कार्यालयको उक्त कार्यको भर्त्सना गरेको हो । संघले सडक डिभिजनले अव्यवस्थित रुपमा संरचना भत्काउने कार्य गरेको भन्दै दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले राज्यकै एउटा निकायले भवन निर्माणको लागि अनुमति दिने र अर्कोले निर्माण भइसकेको संरचना भत्काउने कार्य लज्जास्पद भएको बताए । ‘राज्यकै कुनै निकायबाट भवन निर्माणको लागि अनुमति प्रदान गर्ने र राज्यकै अर्को निकायबाट निर्माण भइसकेको संरचना भत्काउने कार्य लज्जास्पद रहेको संघले महसुस गरेको छ’, उनले भने ।


घरधनी आफैंले मापदण्ड विपरितका संरचना भत्काउदै गरेको अवस्थामा नगरको सुन्दरता बिग्रिने र भवनको बाँकी संरचना समेत कमजोर हुने गरी डोजर चलाईएको भन्दै तत्कल उक्त कार्य रोक्न अध्यक्ष श्रेष्ठले माग गरे । श्रेष्ठले मापदण्ड विपरित बनेका संरचना भत्काउने सवालमा उद्यमी व्यवसायीलाई व्यवस्थित हुने समय नदिईएको समेत बताए ।
व्यवसायीलाई व्यवस्थित हुन समय उपलब्ध गराउने बिषयमा सरोकारवालसँग समन्वय गर्ने भनिएकोमा अप्रत्यासित रुपमा संरचना भत्काउने कार्य भएको उनले बताए । यसले व्यवसायीहरुको सामानमा क्षति पुगेको उनको भनाइ थियो ।
अव्यवस्थित तरिकाले संरचना भत्काउदा व्यवसायीको सामान यत्रतत्र छरिएको, बैंक तथा वित्तिय संस्थाका एटिएम मेसिन, लकरमा समेत क्षति पुगेको भन्दै संघले उक्त कार्यको घोर भत्सर्ना गरेको छ । संघका अध्यक्ष चुननारायण श्रेष्ठले घरको पेटि र टप मात्रै भत्काउने सहमति भए पनि सटर समेत भत्काईएको भन्दै खेद प्रकट गरे ।
यसले कोभिड–१९ ले वित्तिय क्षेत्रमा देखिएको जटिलता र बैंक ब्याजदरमा भएको बृद्धिले थलिएका व्यवसायीहरुलाई थप आतंकित र हतोत्साहित गराएको उनले गुनासो गरे ।
विकासका लागि आवश्यक पूर्वाधारहरु निर्माण दिर्घकालीन र आवश्यक समन्वयमा हुनुपर्छ भन्ने संघको मान्यता रहेको भन्दै पेटिमा मात्र डोजर लगाउने र अन्य संरचनामा क्षति हुने तवरले कार्य नगर्ने आश्वासन दिएर अव्यवस्थित रुपमा संरचना भत्काउनु दुःखद भएको उनको भनाइ थियो ।
भरतपुरको पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडकमा पर्ने अवैध संरचनाहरु भत्काउन थालिएको हो । पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काइनेछ ।
तपाइँको प्रतिक्रिया