तमिलनाडुमा तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

थेनी – तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो ।
अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरू सबरीमालाको दर्शन गरेर घर फर्कंदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो । उनीहरू कुमुली पहाडी सडक इराइचलपलम नजिक पुग्दा सो कार खाडलमा खसेको थियो ।
थेनीका जिल्ला कलेक्टर केभी मुरलीधरनले दुई जनालाई उद्धार गरी अस्पताल लगिएको बताएका छन् । उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । गम्भीर घाइते भएका उनीहरुलाई नजिकैको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । एएनआई रासस


तपाइँको प्रतिक्रिया