नारायणगढमा आज पनि डोजर चलाएर अवैध संरचना भत्काइदै

चितवन – चितवनको नारायणगढ बजारमा आज पनि डोजर चलाईँदैछ । पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन लागेको हो ।
सडक डिभिजनले शुक्रबारबाट अवैध संरचना भत्काउन सुरु गरेको थियो । पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काउन पर्ने कार्यालयका प्रमुख रमेश पौडेलले बताए ।
दुई तीन दिनमा सडकमा परेका अवैध संरचना भत्काएर सडक विस्तारको काम अघि बढाइने उनले बताए । सडक अतिक्रमण गरेर बनाईएका संरचना भत्काउन दुई पटक सूचना जारी गरिएको थियो ।


६ लेन सडक विस्तारको काम सुरु हुँदा ३५ दिने सूचना सार्वजनिक गरेर घर भत्काउन भनिएको थियो । अटेर गरेपछि गत कार्तिक २४ गते १५ दिने सूचना दिईएको पौडेलले बताए । बारम्बार सूचना दिँदा पनि अटेर गरेपछि आँफैले भत्काउन वाध्य भएको उनले बताए ।
‘सुरुमा ३५ दिने, पछि १५ दिने र त्यसपछि पनि समय दिएको हो । कार्तिक २४ गते १५ दिने सूचना दिएको हो । त्यसपछि पनि समय दियौं । सबै घरमा गएर सूचना टाँसेको पनि हो । उहाँहरुले के भत्केला र जस्तो गर्नुभयो । त्यही भएर वाध्य भएर भत्काउन पर्ने अवस्था भयो’, पौडेलले भने ।
सडक विस्तार आयोजनामा ढिलाई हुने भएपछि भत्काउन वाध्य भएको उनको भनाइ छ । ‘जति भने पनि टेर्नु भएन । हाम्रो प्रोजेक्ट मै ढिलाई हुने अवस्था भयो । त्यही भएर शुक्रबारबाट सुरु गरेका हौं’, उनले भने ।
तपाइँको प्रतिक्रिया