कांग्रेस संसदीय दल निर्वाचन : देउवा र थापाद्वारा पहिलो मतदान

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही समय ढिलो गरी सुरु भएको हो ।पहिलो मतदान दलको नेताका उमेदवार पार्टी सभापति शेरबहादुर देउवा र अर्का उमेदवार महामन्त्री गगन कुमार थापाले गरेका छन् । उनीहरूले मतदान गरेपछि लाइनमा बसेका अन्य सांसदले मतदान गरिरहेका छन् ।
मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा केही समय ढिलो गरी मतदान सुरु भएको छ । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसास मोबाइल लैजान पाउनु पर्ने पक्षमा थिए । संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा थिए । मोबाइल लैजान नपाउने विषयमा सहमति भए पछि मतदान सुरु भएको हो ।
मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ ।कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ ।सभापति देउवालाई संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।महामन्त्री थापाको प्रस्ताव डा. शेखर कोइराला बनेका छन् । थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बसेका छन् ।


तपाइँको प्रतिक्रिया