क्रिसमस र नयाँ वर्षमा सौराहा: कार्यक्रम गरेर पर्यटक भित्राउने लक्ष्यमा व्यवसायी

चितवन – क्रिसमस र अंग्रेजी नयाँ वर्षमा सौराहाका पर्यटक भित्राउन विविध कार्यक्रम हुने भएको छ ।
सौराहा आउने पर्यटकलाई नयाँपन दिनका लागि क्रिसमस र नयाँ वर्ष विशेष कार्यक्रम गर्ने तयारी थालिएको हो । अघिल्ला वर्षहरुमा जस्तो छुट र प्याकेज भन्दा पनि खानाको गुणस्तर र व्यस्थित कार्यक्रममा व्यवसायीहरु बढी केन्द्रित भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए ।
कोरोनाकालपछि व्यवसायीहरु आँफै मारमा परेको र आर्थिक तरलताले थप च्यापिएको अवस्थामा छुट दिन सक्ने अवस्था नरहेको अध्यक्ष भट्टराईले बताए । तर कोरोनाको समयदेखि नै दिईदै आएको २० देखि ३० प्रतिशत छुटलाई भने निरन्तरता दिईने उनले बताए ।


यस पटक नयाँ र फरक किसिममा कार्यक्रम गरेर पर्यटक भित्राउने लक्ष्य रहेको उनको भनाइ छ । ‘क्रिसमस र नयाँ वर्षमा सौराहामा छुट छ आउनुहोस् भन्दा पनि हामी नयाँ के दिन सक्छौं त भन्नेमा केन्द्रित छौं । त्यसका लागि हामीले क्रिसमसको बिशेष कार्यक्रम नै तीन ठाउँमा राख्दैछौं । सांगितिक कार्यक्रम पनि हुन्छ । नयाँ वर्षमा न्यु एयर इभ गर्छौं’, उनले भने ।
उनका अनुसार क्रिसमसको समयमा सौराहाको मुख्य चोकहरुमा क्रिसमस बिशेष कार्यक्रम हुनेछ । यस पटक सौराहा आउने पर्यटकहरुले नयाँपन आउने पाउने दाबी छ । यसका लागि तयारी भइरहेको उनले बताए । क्रिसमस र नयाँ वर्षको समयमा हुने चितवन हात्ती महोत्सव यस पटक पनि नहुने उनले बताए ।
हात्ती महोत्सव नहुँदा यो समयमा बाह्य पर्यटकलाई सौराहा भित्राउन नसकिने उनले बताए । यस कारण आन्तरिक पर्यटकहरुलाई नै लक्षित गरेर कार्यक्रमहरु गर्न लागिएको उनको भनाइ छ । क्रिसमस र नयाँ वर्षका लागि अहिलेसम्म ५० देखि ६० प्रतिशत होटल बुकिङ भइसकेको भट्टराईले बताए । यस पटक सौराहाका होटलमा ९० प्रतिशत अकुपेन्सी हुने अनुमान गरिएको छ ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष नरेश गिरीले क्रिसमस र नयाँ वर्षका मध्यनजर गर्दै स्ट्रिट कार्यक्रमहरु आयोजना गर्ने तयारी भइरहेको बताए । क्रिसमसको दिन सौराहाको गैंडा चोकमा कार्यक्रम आयोजना गरिने उनले जाकारी दिए । सान्ता क्लजको भेषमा मानिसहरुलाई तयार पारेर सौराहामा घुमाइने उनले बताए ।
यस पटक सौराहामा क्रिसमसका कार्यक्रमहरु आयोजना गरेर आन्तरिक पर्यटक भित्राउन खोजिएको उनको भनाइ छ । ‘पहिला क्रिसमसमा सौराहामा कार्यक्रमहरु हुने थिएन । यसपटक हामीले केही कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्राउन खोजेका छौं’, उनले भने ।
नयाँ वर्षको समयमा सौराहामा मुख्य चोकमा बिभिन्न जातिको संस्कृति झल्किने किसिमका झाँकीसहितको कार्यक्रम गरिने उनले बताए । अहिले देशको अर्थतन्त्र नै धरासायी भएकोले व्यवसायीहरुले ठूलो अपेक्षा नराखेको उनले बताए । तर पर्यटकहरुलाई स्वागत गर्न भने सौराहा तयार रहेको उनको भनाइ छ ।
तपाइँको प्रतिक्रिया