दुर्घटना न्युनिकरणका लागि यान्त्रिक परीक्षण गर्दै चितवन ट्राफिक
चितवन – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्युनिकरणका सवारी साधनहरुको लागि यान्त्रिक परीक्षण सुरु गरेको छ ।
ट्राफिक प्रहरीले मुख्य राजमार्ग हुँदै चल्ने सवारी साधनहरुको यान्त्रिक परीक्षण सुरु गरेको हो । जस अन्तर्गत आज (आइतबार) नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधनहरुको यान्त्रिक परीक्षण गरिएको थियो ।
पिनाकल सर्भिस सेन्टर भरतपुरका दुई मेकानिकल प्राविधिकहरुहरुको सहयोगमा आज यात्रुवाहक बस, माईक्रो र मालबाहक ट्रक गरी ६२ वटा सवारी साधनहरुको यान्त्रिक परीक्षण गरिएको चितवनका ट्राफिक प्रमुख, प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।
परीक्षण गरिएका सवारी साधनहरु मध्ये २७ वटामा बत्ति तथा ब्रेकमा समस्या र केहीमा टायरमा हावा कम पाईएको उनले बताए । त्यस्ता सवारी साधनका चालकहरुलाई सम्झाई बुझाई गर्नुका साथै मर्मत गर्ने प्रशिक्षण समेत दिईएको अधिकारीले बताए ।
सवारी साधनहरु पुरानो र जिर्ण अवस्थामा समेत सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेकोले यान्त्रिक परीक्षण गरिएको उनको भनाइ छ । ‘कति गाडीहरु जिर्ण अवस्थामा हुँदा पनि चलाउदा ठू-ठूला दुर्घटनाहरु हुने गरेको अवस्था छ । त्यसकारण अहिले मुख्यराजमार्गमा कुन किसिमका गाडीहरु चलिरहेका छन् भनेर यो अभियान चलाएका हौं’, उनले भने ।
उनले अघि भने, ‘दुर्घटना केही न्युनिकरण गर्न सकिन्छ कि भनेर नै हामीले यो अभियान चलाएका छौं । ‘उनले सार्वजनिक सवारी साधनले बढी भाडा लिने र दुर्व्यवहार गरे तुरुन्त प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गर्न पनि यात्रुसँग आग्रह गरे ।
तपाइँको प्रतिक्रिया