भोलि हुने कार्यक्रमका लागि चितवन आइपुग्यो ‘नेपथ्य’
नारायणगढ – नारायणगढको क्याम्पा चौरमा भोलि (आइतबार) हुने कार्यक्रमका लागि नेपथ्य ब्याण्ड चितवन आइपुगेको छ ।
मुख्य गायक अमृत गुरुङसहितको नेपथ्यको टोली शुक्रबार नै चितवन आइपुगेको हो । उनीहरुलाई मानव सेवा आश्रम चितवनका अध्यक्ष रामजी अधिकारी, कन्सर्टका संयोजक ओमकार कँडेललगायतले स्वागत गरेका थिए ।
मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ देशका बिभिन्न शहरमा नेपथ्यको मानवताका लागि संगीतिक यात्रा भइरहेको छ । सोही यात्रा अन्तर्गत हेटौँडाको कार्यक्रम सकेर टोली चितवन आइपुगेको हो ।
नेपथ्यले क्याम्पाचौरमा स्टेज निर्माणको काम समेत थालिसकेको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आश्रमले जनाएको छ । कार्यक्रम संयोजक कँडेलका अनुसार टिकट लगभग बिक्री भइसकेको छ ।
देशभरका प्रमुख १० शहरमा हुने कार्यक्रम चितवनको चौथो हो । यसअघि मंसिर १६ गते विराटनगर, १९ गते वीरगञ्ज र २२ गते हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ । तीन वटै कार्यक्रममा पाँच हजार बढी दर्शक सहभागी थिए । चितवनमा ६ हजार दर्शक उपस्थित गराउने आयोजकको लक्ष्य छ ।
यसपछि मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रम अंग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
तपाइँको प्रतिक्रिया