चितवनमा भएको दुर्घटनाका गम्भीर घाइते जर्मन नागरिकको मृत्यु

एटुजेड समाचार

चितवन – चितवनको इच्छाकामना गाउँपालिका ३ फिल्सिङमा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किदा गम्भीर घाइते एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विदेशी नागरिक जर्मनीका ६० वर्षीय मिकल मेयर ओल्बर्सलेबेन रहेका छन् । आज (बिहीबार) बिहान १०:१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा नारायणगढबाट काठमांडौ जाँदै गरेको ना४१प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको बलेरो आपसमा ठक्कर खाएको थियो ।

ठक्कर खाएका दुबै सवारी साधन सडकबाट ७० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मोटरसाइकलमा दुई विदेशी नागरिक सवार थिए । जस मध्ये चालक ओल्बर्सलेबेनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याएकोमा मध्यान्ह ११२:२५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बोलेरकोमा सवार धादिङको गल्छी गाउँपालिका ५ का ७३ वर्षीय निरबहादुर तामाङको सोही अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था मध्यम छ । बलेरो चालक गोरखामा २१ वर्षीय साजन भुजेल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू