चितवन – चितवनको इच्छाकामना गाउँपालिका ३ फिल्सिङमा बोलेरो र मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन् ।
आज (बिहीबार) बिहान १०:१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा नारायणगढबाट काठमांडौ जाँदै गरेको ना४१प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको बलेरो आपसमा ठक्कर खाएको हो । ठक्कर खाएका दुबै सवारी साधन सडकबाट ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुबै विदेशी नागरिक हुन् । मोटरसाइकल चालक नाम थर नखुलेको विदेशी नागरिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार विदेशी नागरिक महिला मध्यम घाइते भएकी छन् ।
बलेरोमा सवार तीन जना मध्य हाल नाम थर वतन नखुलेको एक जना गम्भीर घाईते भएका छन् । घाइते तिनै जनालाई उपचारको लागि भरतपुरतर्फ ल्याईएको प्रहरीले जनाएको छ । बलेरो चालक र सह चालक अस्थायी प्रहरी पोष्ट फिस्लिङको नियन्त्रणमा रहेका छन् ।