इन्गेजमेन्ट टुटेपछि जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, केटापक्षका ४ जनाविरुद्ध जाहेरी

एटुजेड समाचार

काठमाडौं – काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ ।

विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ ।

प्रहरी वृत्त, महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन् । तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ ।

प्रहरीका अनुसार शरीरमा पेन्ट्रोल खन्याएर आगो लगाएको अवस्थामा उनलाई उद्दार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्‍याइएको थियो ।सोमबार बिहान साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

न्यौपानेको मृत्यु भएपछि न्यौपानेको परिवारले इन्गेजमेन्ट गरेका २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका सुधन संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।

उनीहरु प्रेम सम्बन्धमा थिए । दुवै जनाले विवाह गर्ने भनेपछि दुवै पक्षको मञ्जुरीमा १८ भदौमा इन्गेजमेन्ट भएको न्यौपाने पक्षको भनाइ छ । एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि १७ कात्तिकमा एकाएक केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेको केटी पक्षको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू