काठमाडौं – आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् ।
ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी एमाले सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डसँगको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ ।
सत्तारूढ गठबन्धनको बालुवाटारमा सोमबार नै बसेको बैठकमा ‘निर्वाचन समीक्षाका साथै आगामी सरकार गठनबारे छलफल भयो । सो छलफलमा सत्तारूढ गठबन्धनकै पुनः सरकार बनाउने सहमति जुटेको छ । तर, गठबन्धन बैठकअघि प्रचण्डलाई एमाले सचिव महासेठ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसमेत छुट्टाछुट्टै भेटघाट हुनुलाई ‘अर्थपूर्ण’ रूपमा लिइएको छ ।
‘जसरी पनि प्रधानमन्त्री बन्ने’ दौडमा रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘भए सत्तारूढ गठबन्धनबाट नभए एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बन्ने’ चाहना राखेको उनीनिकट नेताहरू बताउँछन् ।