एभरेष्ट मेन वृत्तचित्र पुनः पुरस्कार

एटुजेड समाचार

काठमाण्डौ – कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाबारेको वृत्तचित्र एभरेस्ट म्यान’ ले उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ । काजकिस्तानमा भएको वस्ताव फिल्म महोत्सवमा उक्त वृत्तचित्रले अवार्ड पाएको हो ।अवार्ड प्राप्त गरेपछि निर्देशक विनोद अधिकारीले खुसी व्यक्त गरेका छन् । उनले वृत्तचित्र निर्माणमा सहयोग गरेकोमा आरोही शेर्पालाई धन्यवाद भनेका छन् ।

वृत्तचित्र पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असरबारे केन्द्रित छ । यो वृत्तचित्र हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायको भूमिका, शेर्पा समुदायबारे वृहत जानकारी र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन निर्वाह गर्नुपर्ने भूमिकाबारे केन्द्रित रहेको निर्देशक अधिकारीले बताए ।

एभरेष्ट म्यान, प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाको साहसिक कार्यलाई चित्रण गर्ने वृत्तचित्र हो । यसमा कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सफलतापूर्वक सगरमाथा हिमालको आरोहण गरेको सन्दर्भका साथै सबैभन्दा बढी चुनौतीको सामना गरेर सगरमाथाको सफल आरोहण गरेको विषयलाई प्रमुख रुपमा समेटिएको छ ।

यस एभरेष्ट म्यान वृत्तचित्रलाई सन २०२२ को नोभेम्बरमा कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृस्ट डकुमेन्ट्रीका रुपमा पुरस्कृत र सम्मानित गरिएको छ ।यस एभरेष्ट म्यान वृत्तचित्रका निर्देशक बिनोद अधिकारीले आफ्नो टोली र कामको कदर गरेकोमा निर्णायकहरुप्रति आभार प्रकट गरेका छन । अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट वृत्तचित्र प्रस्तुत गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको योगदानका लागि उहाँ र उहाँको टोली, विशेष गरी कामीरिता शेर्पा वास्तबमा नै सम्मानित छन् । यस प्रकृतिको सम्मानित कार्यका लागि नेपाल र नेपालीले गर्व गर्नुपर्छ ।

निर्देशक अधिकारीले आफ्नो डकुमेन्ट्रीमा पर्वतारोहण मात्र नभई आरोहणका क्रममा हुने प्रक्रिया, सामना गर्नुपर्ने चुनौति, आरोहणका क्रममा पूरा गर्नुपर्ने पूजाबिधी, धार्मिक तथा सांस्कृतिक पाटोलाई समेत समावेश गर्नुभएको छ । यस वृत्तचित्रमा विशेषगरी सुप्रसिद्ध आरोही कामीरिता शेर्पाले चौबीसौँ पटकसम्म (हाल २५ पटक पुगेको) सगरमाथाको सफल आरोहण गर्ने क्रममा सामना गर्नु परेको चुनौतीलाई प्रकाश पारिएको छ ।

निर्देशक अधिकारीले आफूले जलवायु परिवर्तनका कारण हिमाली वातावरणमा परेको असरहरुलाई वृत्तचित्रका माध्यमबाट देखाएको बताए । उनले यसका असरहरु कम गर्ने र पर्यावरणीय दीगोपना कायम गराउने पर्यटन र पर्वतारोहणका कार्यमा काम गर्न इच्छुक रहेको बताए । उनले जलवायु परिवर्तनको असर पर्वतारोहण र हिमाली समुदायका लागि हानिकारक सावित भएको समेत बताए ।

उनले भने, पहाडले हिउँ गुमाए भने हिमाल आरोहणको महत्व गुम्छ । हरेक वर्ष हिमालले जलवायु परिवर्तनको असर भोगिरहेको छ । आरोहणका मौसममा पहिले भन्दा धेरै हिमपहिरो जाने गरेको समेत देखिन्छ ।यस वृत्तचित्रबाट उनले शेर्पाहरू, उनीहरूको पहिचान र साहसिक कार्य, पृथिवीको हिमाली क्षेत्रको वातावरण र यसको बचाउका बारेमा चेतना जगाउने कार्यका लागि सहयोगी हुने आशा राखेका छन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू