अर्घाखाँची – जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरु सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् ।
यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए । उनले आफ्नो बारीमा ५५५ बोट सुन्तला रहेको र यसबाट २५० क्विन्टलभन्दा बढी फलेको बताए । उनले यसवर्ष सुन्तला बिक्रीबाट रु २५ देखि २८ लाख आम्दानी हुने बताए ।आफ्नो बारीमा ५६५ बोट सुन्तला बगैँचामा रहेको जानकारी दिँदै कृषक दधीराम गौतमले भने, “गतवर्ष सुन्तला बिक्रीबाट नौ लाख कमाएँ, यस वर्ष सुन्तला बढी फलेकाले रु १४ लाख आम्दानी हुने अपेक्षा छ ।”
विगतका वर्षमा यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो रु ६० देखि ६५ मा बुटवल, तानसेन र भैरहवाका बजारमा बिक्री गर्न बाध्य बनेका कृषक यस वर्ष पाणिनिको पोखराथोकमा शीतभण्डार बनेपछि भण्डारणलाई सहज भएको छ ।
अहिले मौसमीरुपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीतभण्डारमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका कृषक खुसी भएको अगुवा कृषक चिरञ्जीवी पौडेलको भनाइ छ ।
विगतमा कुहिएर जाने समस्या भोगेका किसान अहिले सुन्तला शीतभण्डारमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने योजनामा रहेका कृषक पौडेलले बताए । पाणिनि–१ मा मात्र नभएर वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ ।पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तलाखेती हुँदै आएको छ । अर्घाखाँचीमा एक वर्षमा रु २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रामनाथ पाण्डेले बताए । रासस