चितवन – मकवानपुरको हेटौंडाका तिर्थ लामा वन्यजन्तु संरक्षणमा लागेको २२ वर्ष बितिसकेको छ । सन् २००० देखि उनी वन्यजन्तु उद्धार र संरक्षणमा निरन्तर लागिरहेका छन् । उनी राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र (एनटिएनसी) सौराहाका वन्यजन्तु प्राविधिक हुन् ।
४२ वर्षीय तिर्थका हजुरबुवा हर्कमान लामा महेन्द्र राजाको पालामा जनावरको शिकार गर्थे । त्यसबेला उनका हजुरबुवा दरबारका ‘रोयल हन्टर’ थिए । उनको हजुरबुवाको काम राज परिवारको लागि जंगलबाट जनावर शिकार गरेर ल्याउने थियो ।
बाजेपछि तिर्थका बुवा बिष्णु लामा भने वन्यजन्तु संरक्षणको क्षेत्रमा लागे । उनका बुवा पनि एनटिएनसीमा वन्यजन्तु प्राविधिकको रुपमा नै काम गर्थे । अहिले उनी रिटायर्ड भइसकेका छन् । तिर्थ पनि बुवाको बाटो पछ्याउदै वन्यजन्तु संरक्षणमा लागेका हुन् । ‘हजुरबुवा दरबारको रोयल हन्टर हुनुहुन्थ्यो महेन्द्र सरकारको पालोमा । जनावर मारेर सरकारलाई बुझाउन पर्थ्यो । हजुरबुवाले मार्ने काम गर्थे भनी हामी चाँही बचाउन लाग्नुपर्छ भनेर बुवा संरक्षणमा लाग्नु भयो’, उनले भने ।
जनावरको संरक्षण गर्नुपर्छ भनेर सन् २००० देखि उनी बुवासँगै हिंड्न थाले । सुरु-सुरुमा निकै डर लाग्थ्यो । तर जंगलमा जनावर, तिनका पाइला देख्न थालेपछि छुट्टै आनन्द मिल्न थालेको उनी सुनाउँछन् । उनलाई चरा चुरुङ्गीको आवाजले आनन्द मिलन थाल्यो । विस्तारै यसको रस पस्यो । ‘सुरु-सुरुमा जंगलमा हिड्दा डर लाग्थ्यो । जब जंगलमा जनावरहरु देख्न थाले, पाइलाहरु, खोर्सेको चिन्हहरु देख्न थाले त्यसपछि छुट्टै आनन्द हुन थाल्यो’, उनले सुनाए ।
उनी अहिले वर्षको आठदेखि नौं महिना जंगलमै बिताउँछन् । उनी वन्यजन्तु संरक्षणका लागि टेन्ट टाँगेर आफ्नो टिमसँग जंगलमा बस्छन् । बाहिर बस्नुपर्दा छटपटी हुन्छ । उनले हालसम्म करिब तीन सय वटा जनावरको उद्धार गरिसकेका छन् । त्यसमा पनि सबै भन्दा धेरै बाघको उद्धार गरेको उनीसँग अनुभव छ । सुरुका दश वर्ष उनले वन्यजन्तुको उद्धारको लागि क्यामेरा ट्र्यापिङको काम गरे । सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि क्यामरा ट्र्यापिङ गरिएको थियो । त्यसै बेला तिर्थले टिमसँग बसेर काम गर्ने मौका पाएका थिए । २०१० देखि भने उनले डार्ट गर्न थालेका हुन् ।
जनावर उद्धारको क्रममा व्यवस्थापकिय पाटो चुनौतीपूर्ण हुने उनी बताउँछन् । एउटा बाघ नियन्त्रणमा लिन ५० जनाको जम्बो टोली चाहिन्छ भने १० देखि १२ लाख रुपैयाँ खर्च हुने उनी बताउँछन् । उनका अनुसार बाघलाई डार्ट गरेपछि बढीमा दुई सय मिटर परसम्म पुगेर बेहोस हुन्छ । कहिले काही प्राविधिक गडबडीले जनावारको मृत्यु हुने गरेको पनि उनी बताउँछन् । उनका अनुसार डार्ट गरेको जनावार समयमै खोरमा पुराएर उद्धार गर्न नसक्दा मृत्यु हुनेगर्छ ।
जनावार डार्ट गर्ने क्रममा उनी आँफै आक्रमणमा पनि परेका छन् । २०७४ सालमा ठूलो बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट दश वटा गैंडा बगाएर भारत पुर्याएको थियो । भारतबाट गैंडा नेपाल ल्याउन उनीसहित एनटिएनसीको टोली गएको थियो । सोही क्रममा गैंडाले उनलाई आक्रमण गरेको थियो ।
अर्धवैशे पोथी गैंडा डार्ट गर्न खोज्दा उनी आक्रमणमा परेका थिए । ‘गैंडाले मलाई हेरिरह्यो । गैंडाले आक्रमण गर्ने बेला टाउको मुनी गरेर कान ठाडो गर्छ । अब मलाई मार्ने भयो भन्ने लाग्यो । पछाडि ठूलो रुख थियो । त्यो रुखसम्म पुगे भने म बाँच्छु नत्र मलाई मार्छ भन्ने सोचेर दौडिए । रुखलाई अंगालो मारेर बसेको थिए । गैंडाले मलाई दाह्राले हान्यो । तर मलाई थुतुनोले मात्रै लाग्यो । त्यही भएर चोटपटक त लागेन’, गैंडाले आक्रमण गर्दाको क्षण सम्झिदै उनले सुनाए ।
जंगलमा हिड्दा पहिला आफ्नो सुरक्षालाई ध्यान दिनुपर्ने उनी बताउँछन् । कहिले काही जनावारलाई डार्ट गर्ने क्रममा औषधि राम्रोसँग पास नहुँदा पूर्ण रुपले बेहोस नहुने र यसले जोखिम हुने गरेको उनी बताउँछन् । उनी अध्ययन अनुसन्धानका लागि आउने विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई गाईड पनि गर्छन् । उनीहरुलाई जंगल र जनावरको बिषयमा जानकारी दिन्छन् ।
उनी जनावार डार्ट गर्न लागि नेपालका धेरै जिल्ला तथा भारतसम्म पनि पुगेका छन् । करिब एक महिना अघि तिर्थ लामा र उनको टिम नरभक्षी बाघ नियन्त्रणमा लिनका लागि भारतको पश्चिम चम्पारणको बगाहा पुगेका थिए । २५ दिनमा नौं जनाको ज्यान लिएको नरभक्षी बाघलाई भारतीय स्पेसल फोर्सले समेत नियन्त्रणमा लिन नसकेपछि नेपाली टोलीलाई बोलाईएको थियो । नेपाली टोलीले बाघलाई नियन्त्रणमा लिएपछि भारतिय सेनाले गोली हानेर मारेको थियो ।
दुई दशक बढी वन्यजन्तु संरक्षणमा लागेका तिर्थ अहिले चोरी शिकारी कम हुँदै गएकोमा खुशी व्यक्त गर्छन् । ‘अहिले ६-७ वर्ष यता चोरी शिकारी कम भएको छ । त्यही भएर गैंडा र बाघ बढेको छ नेपालमा’, उनले भने । हात्ति, बाघ, गैंडा मात्र नभई धेरै जनावारहरुको चोरी शिकारी हुने गरेको छ । चोरी शिकारी नियन्त्रण र वन्यजस्तु संरक्षणका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । सबैको मेहेनतले नेपालमा बाघको संख्या बढाएर तीन सय ५५ पुर्याउन सफल भएको उनी बताउँछन् ।