चितवन – चितवनकै पहिलो साइन्स कलेजको रुपमा स्थापित गुरुकुल कलेजले रजत महोत्सव मनाएको छ ।
स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा कलेजले विविध कार्यक्रम गर्दै रजत महोत्सव मनाएको हो । रजत महोत्सव अन्तर्गत मंसिर ११ देखि १७ गतेसम्म बिभिन्न कार्यक्रम आयोजना भएको थियो ।



विज्ञान संकाय संयोजक हरिहर भुसालका अनुसार कलेजकै विद्यार्थीहरुबीच आन्तरिक रुपमा तथा अन्तर विद्यालय विविध खेलकुद कार्यक्रम आयोजना गरिएको थियो । यस्तै अन्तर विद्यालय विज्ञान प्रदर्शनी, रोबोटिक्स एण्ड इन्फोटेक वर्कसप तथा अन्य बिभिन्न बिषयमा पनि वर्कसप आयोजना गरिएको भुसालले बताए ।
रजत महोत्सवकै अवसरमा अन्तर टोल बिकास संस्था हाजिरी जवाफ, जिल्ला स्तरीय गुरुकुल रनिङ शिल्ड अन्तर विद्यालय हाजिरी जवाफ, म्याराथनलगायतका कार्यक्रम पनि गरिएको थियो ।
यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत साना घरलाई शैक्षिक सामाग्री सहयोग, टोल सरसफाइ, रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदानमा ४५ जनाले रगत दान गरेको भुसालले बताए । कलेजले पूर्व शिक्षक कर्मचारी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो ।



एक सातासम्म सञ्चालित कार्यक्रम शनिबार समापन गरिएको हो । वन तथा कृषि विश्व विद्यालयका पूर्व उपकुलपति आईपी ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा गायक मिलन लामा, प्याब्सन चितवनका अध्यक्ष कृतिनिधि अर्याल, हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकाललगायत उपस्थित थिए ।