पोखराको भैरव नाच : साढे दुई शताब्दीको इतिहास

कास्की – पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ ।
यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङले जानकारी दिए । भय र दण्डका देवताका रुपमा हिन्दू र बौद्ध संस्कृतिमा प्राचीन कालदेखि भैरवको पूजाआजा हुँदै आएको पाइन्छ ।
तन्त्रोक्त विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् । भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको अध्यक्ष प्रधानाङ्गले बताए । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा छ । यसलाई गण नृत्य (गँ प्याखँ) भैरव नृत्य (भैल प्याखँ) आदि नाममा काठमाडौँ उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिँदै आएको उनको भनाइ छ ।
पोखरामा पनि भैरव नृत्यको साढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उनले भने, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा सुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिँदै आइएकोमा २०२९ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिँदै आइएको छ ।”


यसमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुन्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् ।
भएको सचिव सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए । यही मङ्सिर १५ गतेदेखि प्रदर्शन गर्ने तयारी भएको यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मानस्वरुप भीमसेन मन्दिर भीमसेन टोलमा प्रदर्शन गरिने योजना छ ।
यो नृत्य १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणेश मन्दिर भैरवटोल, २२ गते गुरु कृष्णदेव प्रधानाङ्गको निवास स्थान भैरवटोल प्रदर्शन गरिने जनाइएको छ ।
नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष प्रधानाङ्गले जानकारी दिए । नृत्य आमन्त्रण गर्न व्यक्तिगत र संस्थागत क्रमशः ३५ हजार र ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
तपाइँको प्रतिक्रिया