चितवनका ८१ प्रतिशत उम्मेदवारको जमानत जफत

चितवन – चितवनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका मध्ये ८१ प्रतिशतको जमानत जफत भएको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवनका ३ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि ५५ जना उम्मेदवार थिए । उनीहरु मध्ये १९ प्रतिशत अर्थात दश जना उम्मेदवारले मात्रै धरौटी बापतको रकम जोगाएका छन् । बाँकी ८१ प्रतिशत अर्थात ४५ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’ प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ मा मात्रै प्रतिनिधि सभा सदस्यका लागि १९ जना चुनावी मैदानमा उत्रिएका थिए । तर उनीहरु मध्ये तीन जनाले मात्रै जमानत जोगाउन सके । बाँकी १६ जनाको जमानत जफत भएको छ । चितवन १ मा ९१ हजार ४२० मत सदर थिए ।
३४ हजार २१८ मतका साथ विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, २६ हजार ६३४ मतका साथ दोस्रो भएका नेकपा एमालेका सुरेन्द्र पाण्डे र २५ हजार २२ मतका साथ तेस्रो भएका नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेल यस क्षेत्रबाट जमानत जोगाउने तीन उम्मेदवार हुन् ।
अन्य १६ जनाले जमानत जोगाउन पनि सकेनन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधुप कुमार भट्टराई, नेपाल सुशासन पार्टीका गोविन्दप्रसाद रिजाल, मंगोल नेशनल अर्गनाइजेसनकी कुमारी थिङ, जनता समाजवादी पार्टी (जसपा) नेपालका अजय ठाकुर हजाम, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अर्जुन प्रजा, एकीकृत शक्ति नेपालका नविन खड्का र स्वतन्त्र उम्मेदवारहरु बिष्णु लामा (मिलन लामा), उत्सव धमला, जीवन तामाङ, कुमार आचार्य, दीपक पाठक, राजेन्द्रप्रसाद बुर्लाकोटी, अरुणकुमार उप्रेती, ओमकृष्ण थपलिया, तिलकमणी पाठक रहेका छन् ।
चितवन २ मा १६ जना उम्मेदवार थिए । उनीहरु मध्ये तीन जनाको मात्रै जमानत जफत भएको छ । ८४ हजार १७ सदर मत मध्ये ४९ हजार ३०० मत ल्याएर विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, १४ हजार ९८८ मत ल्याएर दोस्रो भएका नेपाली कांग्रेसका उमेश श्रेष्ठ र १४ हजार ६५२ मतका साथ तेस्रो भएका नेकपा एमालेका कृष्णभक्त पोख्रेलले मात्रै जमानत जोगाउन सफल भए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारी, मंगोल नेशनल अर्गनाइजेसनका टेकबहादुर तामाङ, हाम्रो नेपाली पार्टीका अमृत तामाङ, जसपा नेपालका मुस्तफा अली, जनसमाजवादी पार्टी नेपालकी प्रभा त्रिपाठी, नेमकिपाका ज्ञानेन्द्र प्रजा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिल कुमार क्षेत्री र स्वतन्त्र उम्मेदवारहरु भास्करचन्द्र न्यौपाने, देविका कुँवर, अंगुर पन्त, सुन्दर डल्लकोटी, सुदर्शन प्रधान र खेमराज भट्टराईले जमानत जोगाउन सकेनन् ।
चितवन ३ मा २० जना उम्मेदवार रहेकोमा चार जनाले मात्रै जमानत जोगाए । बाँकी १६ जनाको जमानत जफत भएको छ । चितवन ३ मा ८९ हजार ५२३ सदर मत थिए । ३५ हजार ६० मतसहित विजयी भएका राप्रपाका बिक्रम पाण्डे, २५ हजार ८२४ मतसहित दोस्रो भएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, १४ हजार ८४३ मतसहित तेस्रो भएकी रास्वपाकी जिता बराल र १२ हजार २७५ मतसहित चौथो भएका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको मात्रै जमानत जफत भयो ।
मंगोल नेशनल अर्गनाइजेसनका फैन्द्रजंग गुरुङ, राष्ट्रिय नागरिक पार्टीका नवराज घले, जसपा नेपालका काशिम मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका जगबहादुर पुन मगर, नेमकिपाका पदम थापा मगर र स्वतन्त्र उम्मेदवारहरु जगन्नाथ पौडेल, बासुदेव सापकोटा, ताराप्रसाद पौडेल, बद्री सिलवल, चन्द्रबिलास अधिकारी, तारानाथ पौडेल, नन्दराज उपाध्याय, राजन सापकोटा, सुमित्र राई गिरी, हरि तामाङ र भिम्सिन बस्नेतको जमानत जफत भएको छ ।
तपाइँको प्रतिक्रिया