३१ वर्षपछि कालीकोटमा कांग्रेसको जित
मान्म – पछिल्लो ३१ वर्षमा मुलुकमा सातवटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जित हासिल गरेको थियो ।
विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जित हासिल गर्न सकेको थिएन । रोचक त के छ भने ०४८ सालमा कांग्रेस उमेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर विष्ट ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जित दिलाउन सफल भएका छन् ।
तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उमेदवार विष्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याएका थिए ।
यही मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का वीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गरे ।“प्रदेशसभा सदस्यमा कांग्रेसले जित निकाल्न सफल भएको छ,” कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भने, “३१ वर्षपछि कालीकोटमा कांग्रेसको जितले निकै खुसी बनाएको छ ।” रासस
तपाइँको प्रतिक्रिया