भरतपुरमा निर्मित स्व.शैलजा आचार्य स्मृति प्रतिष्ठान भवनको उद्घाटन
चितवन – भरतपुर महानगरपालिका ५ तोरी खेतमा निर्मित स्व शैलजा आचार्य स्मृति प्रतिष्ठानको केन्द्रिय भवनको उद्घाटन गरिएको छ ।
नेपाली कांग्रेसकी नेतृ स्व शैलजा आचार्य स्मृति प्रतिष्ठानको नवनिर्मित केन्द्रिय भवनको आज (शनिबार) महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन् । मन्त्री रेग्मीले आचार्यको अर्दकदको शालिकको अनावरण पनि गरिन् ।
स्थानीय समाजसेवी राजेन्द्र प्रसाद अधिकारीले आफ्नी धर्मपत्नी स्व.सरस्वती अधिकारीको सम्झनामा प्रदान गरेको एक कट्ठा १० जग्गामा एक करोड लागतमा उक्त एक तले भवन निर्माण गरिएको हो । भवनमा एउटा सभाहल र दुई वटा कोठा रहेका छन् । एउटा कोठामा सङ्ग्रहालय निर्माण गरिने जनाइएको छ ।
कार्यक्रममा मन्त्री रेग्मीले आफूले लामो समय आचार्यसँग सङ्गत गरेको भन्दै आजको समयमा उनको आर्दश र विचार उत्तिकै सान्दर्भिक रहेको बताईन् । उनको साधकी स्वच्छ छवि, निष्कलंंक रहेको भन्दै आजका युवाको लागि स्व.आचार्य प्रेरणादायिक र उदाहरणीय व्यक्ति रहेको मन्त्री रेग्मीले बताईन् । स्व.आचार्यको आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध हुन नसक्दा देशको पछिल्ला राजनीति घटनाक्रममा विचलन आएको समेत बताईन् ।
उनले देशको राजनीतिलाई इङ्गित गर्दै मन्त्री रेग्मीले आफै हारेर पनि देशलाई जिताउन कांग्रेस सधैँ तयार रहेको बताईन् । गठबन्धन कायम रहने छ उनले भनिन्, “गठबन्धन लामो समय जान्छ । गठबन्धन नरहे देशमा समस्या उत्पन्न हुने देखिन्छ ।“ देशलाई निकास दिन सधैँ काँग्रेस अग्रसर हुनुपर्ने उनले बताईन् ।
नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, चितवनका उपसभापति राजीव न्यौपाने, बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य उत्तम जोशी, ट्रष्टकी नवलपरासी सुस्ता पश्चिमकी कोषाध्यक्ष रम्बा कुँवर, ट्रष्टका महासचिव पूर्ण प्रसाद गौडेल, भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, ट्रष्टकी वरिष्ठ उपाध्यक्ष पार्वती शाह ठकुरी लगायतले बोलेका थिए । वक्ताहरूले स्व.आचार्यले नेपालको राजनीतिमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
तपाइँको प्रतिक्रिया