चितवन – प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका चितवनका दुई डाक्टर पराजित भएका छन् ।
चितवन १ र ३ बाट उम्मेदवार बनेका डा. विश्वनाथ पौडेल र डा. भोजराज अधिकारी पराजित भएका हुन् । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजिनामा दिँदै चुनावी मैदानमा होमिएका थिए ।
उता प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न डा. अधिकारीले भरतपुर अस्पताल बिकास समितिको अध्यक्ष पदबाट राजिनामा दिएका थिए । दुबै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार थिए ।
पौडेललाई नेपाली कांग्रेस र अधिकारीलाई नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो । तर मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउँदा दुबै डाक्टर पराजित भए ।
पौडेल चितवन १ मा तेस्रो स्थानमा रहे । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल भारी मतान्तरले विजयी भए । ढकालले ३४ हजार १८९ मत ल्याउँदा पौडेल २४ हजार ९९० मै सीमित भए । दोस्रो भएका नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत प्राप्त गरे ।
यता डा. अधिकारी चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बिक्रम पाण्डेसँग नौं हजार २३३ मतान्तरले पराजित भए । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनले २५ हजार ८२२ मत मात्रै प्राप्त गरे ।
यस्तै चितवन ३ (क) मै डा. सूर्यकान्त घिमिरे पनि पराजित भए । कांग्रेसबाट उम्मेदवार बनेका घिमिरे राप्रपाका गिरबहादुर तामाङसँग दुई हजार ८५७ मतान्तरले पराजित भए । तामाङले १७ हजार ८१३ मत प्राप्त गर्दा घिमिरे १४ हजार ९५६ मतमा सीमित भए ।