नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी

एटुजेड समाचार

चितवन – चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।

आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले उजुरी दर्ता गरेका हुन् । उनले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा मंसिर ९ गते उजुरी दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको दर्ता नं. १९१ रहेको र सो शाखाबाट च.न. १५७ रही नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखामा गएर आवश्यक कारबाही अगाडि बढेको उनले जनाएका छन् ।

गृहमन्त्रालयमा सह प्रवक्ता वसन्त भट्टराईले सांसद लामिछानेविरुद्ध उजुरी परेको अनौपचारिक जानकारी रहेको बताए । उनले सो उजुरी बारेमा के गर्ने भन्नेबारेमा गृहसचिवले निर्णय लिने बताए । यसअघि लामिछाने विरुद्ध निर्वाचन आयोगमा पनि लामिछाने अमेरिकाबाट फर्किएपछि रद्ध भइसकेको नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी परेको थियो । मतगणनाको अन्तिम परिणाम आइसकेकोले आयोगले सो विवाद हेर्ने आफ्नो क्षेत्राधिकार सकिएको बताएको छ ।

लामिछाने ३४ हजार ३१२ को फराकिलो मतान्तरले चितवन २ बाट निर्वाचित भएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको संशोधित अन्तिम मतपरिणाम अनुसार लामिछानेले ४९ हजार ३०० मत प्राप्त गरेका थिए । लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र नेकपा एमालेका कृष्णभक्त पोखरेलका १४ हजार ६५४ मत पाएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु