रवि लामिछानेले बुझे चितवन २ बाट निर्वाचित प्रमाणपत्र
चितवन – चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमाणपत्र बुझेका छन् ।
लामिछानेले आज (शुक्रबार) मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट निर्वाचित प्रमाणपत्र बुझेका हुन् । प्रमाणपत्र बुझ्दै लामिछानेले जनताको मुद्धामा सबै दलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘जनताका मुद्दामा, जन जिविकाका मुद्दामा हामी एकै ठाउँमा उभिने छौं । हामी सहकार्य गर्नका निम्ती प्रतिवद्ध छौं, उनले भने, ‘चुनावी माहोलमा हाम्रो दलले कही पनि गठबन्धन गरेन । तर देशको हितका लागि गठबन्धनको आवश्यक पर्यो भने हामीलाई पनि भन्नुहोला, हामी सधैं साथमा रहनेछौं ।’
उनले जनताको विश्वासलाई शिरमा राखेको भन्दै टुट्न नदिने बताए । लामिछानेले पक्ष विपक्ष नभनी मत पेटिकामा खसेको सम्पूर्ण मतको सम्मान गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
लामिछाने ३४ हजार ३१२ को फराकिलो मतान्तरले चितवन २ बाट निर्वाचित भएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको संशोधित अन्तिम मतपरिणाम अनुसार लामिछानेले ४९ हजार ३०० मत प्राप्त गरेका थिए । लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र नेकपा एमालेका कृष्णभक्त पोखरेलका १४ हजार ६५४ मत पाएका थिए ।
यसैबीच चितवन २ (क) का प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल र २ (ख) का प्रदेश सभा सदस्य उत्तम जोशीले पनि मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित प्रमाणपत्र बुझेका छन् । सिलवाल एमालेबाट १६ हजार ५०० र जोशी कांग्रेसबाट १३ हजार ३०६ मत प्राप्त गर्दै प्रदेश सभामा निर्वाचित भएका थिए ।
तपाइँको प्रतिक्रिया