चितवन २ : १५ उम्मेदवारको मत जोड्दा पनि रविको भन्दा कम

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने चितवन २ बाट भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको संशोधित अन्तिम मतपरिणाम अनुसार लामिछानेले ४९ हजार ३०० मत प्राप्त गरेका छन् । उनको मतान्तर नै ३४ हजार ३१२ छ ।
प्रतिनिधि सभाका लागि रवि बाहेक लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ र सोही क्षेत्रबाट दुई-दुई पटक निर्वाचित नेकपा एमालेका कृष्णभक्त पोखरेलसहित अन्य १५ उम्मेदवार पनि प्रतिस्पर्धामा थिए । तर यी १५ उम्मेदवारहरुको मत जोड्दा पनि रवि लामिछानेको भन्दा कम नै रहेको छ ।
प्रतिस्पर्धामा रहेका अन्य १५ उम्मेदवारको मत जोड्दा पनि ३१ हजार ४५३ हुन आउँछ । यो रविको मतान्तर भन्दा पनि दुई हजार ८५९ ले कम हो । कांग्रेसका श्रेष्ठले १४ हजार ९८८ मत पाउँदा एमालेका पोखरेलका १४ हजार ६५४ मत पाएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन अधिकारीको ९५५, नेशनल मंगोल अर्गनाइजेसनका टेक बहादुर तमाङको दुई सय ७७ र हाम्रो नेपाल पार्टीका अमृत थिङ तामाङको एक सय ४७ मत आएको थियो ।
तपाइँको प्रतिक्रिया