हाम्रो आगमनले कोही पनि आत्तिनुपर्दैन, पाँच वर्ष सहकार्य गरौं : रवि लामिछाने

एटुजेड समाचार

चितवन – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्मानजनक हैसियतमा रहेर दलहरुसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् ।

निर्वाचित भएपछि भरतपुरमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले आफूहरुको आगमनले कोही पनि आत्तिनु नपर्ने समेत बताए । ‘सम्मानपूर्वक हैसियतमा रहेर सहकार्य गर्न तयार छौं । हाम्रो आगमनलाई लिएर कोही पनि आत्तिनुपर्दैन’, उनले भने ।

जनहित विपरितको काममा भने आफ्नो पार्टीको सहकार्य नरहने उनले बताए । ‘जनताबाट प्राप्त शक्ति आफ्नो लागि, आफ्नो कार्यकर्ता पोस्नका लागि खर्च नगरौं । जनताको हितका हुने विधेयक निर्माण गरौं । जनहित विपरित कार्यमा हाम्रो सहकार्य हुँदैन’, उनले भने ।

उनले जनताले यस पटक फेरि पुराना दललाई अवसर दिएको भन्दै दुरुपयोग नगर्न पनि सचेत गराए । दलहरु नसुध्रिए अबको पाँच वर्षपछि देशभर घण्टी मात्रै बज्ने उनको भनाइ थियो । ‘यस पटक पनि जनताले पुराना दललाई जिताउनु भएको छ । जनताले दिएको अवसर दुरुपायोग नगर्नुहोला । आफ्नो कार्यकर्ता पोस्न, आफ्नै लागि मात्रै सोच्ने हो भने हामी घण्टी लिएर निस्किएका छौं । पाँच वर्षपछि यस्ती घण्टी बज्नेछ, तपाईहरुको कानले सुन्न सक्नेछैन ।’

उनले चितवनले परिवर्तनको सन्देश दिएको समेत बताए । उनले आजबाट आफू परीक्षा दिनका लागि सक्षम भएको बताएका छन् । उनले निर्वाचित हुनु विजयी हुनु नभई परीक्षा दिनका लागि सक्षम हुनु भएको बताए । उनले आजबाट आफू परीक्षा दिन गइरहेको भन्दै यसको नतिजा पाँच वर्षपछि आउने बताए ।

‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आजबाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ’, उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू