काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् ।
ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् । उनले संसदमा जनमुखी मुद्दाहरू उठाउने बताए ।
उनले आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गरिन् । उनले मतदाताहरूलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन् ।
उनले भनिन्– ‘हजुरहरुले दिनुभएका वाणीहरु, वाचाहरू, आशा, विश्वास, भरोसा सम्पूर्णलाई मैले संरक्षण गरेर हृदयभित्र जगेर्ना गरेर राखेको छु । म मेरो पाँच वर्ष सदनमा ललितपुर मात्र होइन, समग्र देशवासीको गर्व गर्न लायक राजनीतिज्ञ, सांसद बनेर म उभिने छु । र जनमुखी मुद्दाहरूमा बुलन्द रहने छु । विजय तबमात्र स्थापित हुन्छ, जब मैले हजुरहरु समक्ष राखेका वाचाहरु, प्रतिवद्धताहरुमा मैले काम गरेर देखाउन सक्नेछु । त्यो दिन हामी विजय मनाउनेछौँ । तबसम्म मैले यसलाई जिम्मेवारीको रुपमा ग्रहण गरेको छु । निरन्तर मलाई खबरदारी गरिरहनुहोला । सल्लाह, सुझाव दिइरहनुहोला । हामी मिलेर अब यो पाँच वर्षमा हामीले चाहेको देश, हामीले चाहेको समृद्ध, स्वस्थ, सुखी देश मिलेर निर्माण गर्नेछौँ । यसमा हातेमालो हजुरहरुले गरिदिइ रहनुहोला ।’