मुस्ताङ – छर्लङ्गै खुलेको छ मौसम । चारैतिर सेता हिमाल मुसुक्क मुस्कुराइरहेका छन् । सेता हिमाल हेर्दै प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र मुस्ताङका होटल व्यवसायीको न्यानो आतिथ्यतामा रमाइरहेका आन्तरिक तथा बाह्य पर्यटकको रौनक बढेको मुस्ताङमा अबको २६ दिनपछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको गतिविधि भने सुस्त छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा राजनीतिक दलले चुनावी गतिविधि सञ्चालन गरिसकेका छैनन् । “चुनाव आइसक्यो,तर कुनै पनि दलका उम्मेदवार भोट माग्न आएका छैनन्, न त आफ्ना एजेण्डा नै हामीलाई बताएका छन्”, मुस्ताङको सदरमुकाम जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताए । मुस्ताङमा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।
प्रतिनिधिसभातर्फ पाँच राजनीतिक पार्टीका पाँच र दुई स्वतन्त्र उम्मेदवार छन् । प्रदेशतर्फ चार राजनीतिक पार्टीका छ जनाले मनोनयनपत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए ।
प्रतिनिधिसभातर्फ एमालेबाट पूर्वसांसद प्रेमप्रसाद तुलाचन,कांग्रेससहितको गठबन्धनबाट योगेश गौचन थकाली, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुदेश गुरुङ, राप्रपाबाट मानबहादुर विक र राप्रपा नेपालबाट प्रवीण शेरचनले उम्मेदवारी दिएका छन् । प्रदेशतर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन, कांग्रेससहितको गठबन्धनबाट विकल शेरचन र नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार छन् ।
प्रतिनिधिसभामा स्वतन्त्रबाट डा सुरेन्द्र शेरचन र सुरज लालचन उम्मेदवार छन्। प्रदेशतर्फ कुनै पनि स्वतन्त्र उम्मेदवारी परेको छैन । मुस्ताङमा कुनै किसिमका चुनाव लक्षित गतिविधि सञ्चालन नभएका मार्फाका देवेन्द्र शेरचनले बताए ।
एमालेले पनि अहिलेसम्म निर्वाचन लक्षित कुनै गतिविधि सञ्चालन गरेको छैन । “हामी अहिले आन्तरिक तयारीमा लागेका छौँ,स्थानीय तहका साथीसँग छलफल भइरहेको छ,अब छिट्टै घरदैलो,भेटघाटलगायतका कार्यक्रम गर्छौँ”, एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार प्रेमप्रसाद तुलाचनले भने।
जोमसोमस्थित होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचन चुनावप्रति स्थानीय त्यति उत्साहित नभएका बताए ।
विगतका वर्षको तुलनामा यस वर्ष मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम चेकपोष्टका अनुसार चालुआर्थिक वर्षको तीनमहिनामा मुस्ताङमा सडकमार्ग र हवाईमार्ग हुँदै नौ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये करिब७५ प्रतिशत सार्क मुलुकका छन् ।
विगत १४ वर्षदेखि जोमसोममा सुनसरी किराना पसल सञ्चालन गर्दै आएकी राधिका क्षेत्रीले चुनाव आउँदै छ भन्ने आफूले सुनेको तर भोट माग्न अहिलेसम्म कोही पनि नआएको बताइन् ।रासस