मंसिर ४ मा अग्रगमन र विकास चिन्नुस् : चितवन १ का उम्मेदवार पौडेल

एटुजेड समाचार

चितवन – नेपाली कांग्रेसबाट चितवन १ का प्रतिनिधिसभा उम्मेदवार डा. विश्वनाथ पौडेलले अग्रगमन र विकासका लागि गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताएका छन् । चितवन १ को चुनावी प्रचार प्रसारका क्रममा पौडेलले भने, ‘चुनाव भनेको चुन्ने कुरा हो । मंसिरको ४ चुनावमा अग्रगमन र विकास चुन्नुस् । प्रतिगमन र अविकास होइन ।’

सत्ता गठबन्धनले चुनाव जित्दा मुलुक अग्रगमनतिर जाने र विकास पनि हुने पौडेलको दाबी छ । ‘१५ महिना अघिसम्म प्रधानमन्त्रीले संविधान र व्यवस्था के गर्ने हुन भन्ने त्रास थियो । मुलुकमा प्रतिगमनको खतरा बुझेर गठबन्धनको निर्माण भएको हो । संविधानको रक्षा गर्नु एकदमै महत्वपूर्ण थियो,’ उनी भन्छन् ।

गठबन्धनले चुनाव जिते संविधानको रक्षा र स्थायित्व हुने उनको जिकिर छ । पौडेलले भने, ‘गठबन्धनले जित्नु मुलुकको अगाडि हिड्ने बाटो निर्धारित हुनु हो । यो भन्दा यताउता भयो भने फेरि अस्थिरता निम्तिने छ । विकास हुने छैन ।’

पूर्वी चितवनको विकासका लागि प्रतिनिधिसभा र प्रदेशमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह छ । ‘चितवन १ बाट अस्थिरताका कारकलाई जिताएर पठाउँदा विकास हुँदैन । यो हामीले १० १५ वर्षमा के भयो देखिसकेका छौं । अब हेर्न बाँकी के छ ?,’ पौडेलको प्रश्न छ ।

योजना आयोगको उपाध्यक्ष हुँदा पूर्वी चितवनका विभिन्न खोलाहरुमा तटबन्ध निर्माणका काम थालेको उनको भनाइ छ । पौडेलले भने, ‘यहाँ धेरै खोला छन्, तिनले जनतालाई धेरै दुःख दिएका छन् । त्यसैले तटबन्ध कार्यक्रम अघि बढाइयो ।’

बिजुली नपुगेका तामाङ, चेपाङको बस्तीमा बिजुली लैजाने काम भएको उनले बताए । पौडेलका अनुसार सडक पूर्वधारमा पश्चिम चितवन र पूर्वी चितवनमा आकाशपातलको फरक छ । उनले भने, ‘त्यसमा महत्त्वपूर्ण सडक पूर्वाधार लैजान कोसिस गरेँ । स्वास्थ्यको विषयमा जनताको आवाज सरकारसमक्ष पुर्याएँ । अब जनप्रतिनिधिका रुपमा यी काम सम्पन्न गर्ने मेरो लक्ष्य छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू