चितवन – भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्ट्ररले चोटपटक तथा दुर्घटनाको घाइतेका लागि छुट्टै आकस्मिक कक्ष सुरुवात गरेको छ ।
अस्पतालले आज (सोमबार) बाट युरोपियन मापदण्डको आकस्मिक कक्ष सञ्चालन गरेको हो । प्रविधि र भौतिक पूर्वाधारलाई समय सापेक्ष विस्तार एवं सुधारका लागि आकस्मिक कक्षलाई युरोपियन मापदण्डको बनाईएको अस्पतालका कार्यकारी अध्यक्ष अर्थोपिडिक सर्जन डा. प्रमोद लामिछानेले जानकारी दिए ।



ट्रमाको आकस्मिक सेवाका लागि चार जना बिशेषज्ञसहित १५ जना स्वास्थ्यकर्मी निरन्तर तयारी अवस्थामा रहने उनले बताए । यसैबीच अस्पतालले चोटपटक र दुर्घटनाका घाइतेको ट्रमा उपचारमा विश्वस्तरीय प्रविधिको प्रयोग र सेवाका लागि आईएसओ ९००१-२०१५ प्रमाणपत्र पनि प्राप्त गरेको छ ।
यसले सेवालाई थप प्रभावकारी बनाउन हौसला मिलेको डा. लामिछानेको भनाइ छ । उनले ट्रमा उपचार, हाडजोर्नी, मेरुदण्ड, न्युरो तथा अनुहारको हड्डिको उपचारमा प्रभावकारी र समय सापेक्ष सेवा थप्दै जाने बताए ।
चोटपटक तथा दुर्घटनाको घाइतेको उपचारमा काठमाडौं बाहिर सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित एलाइभ हस्पिटलले ११ वर्षमा १८ हजार भन्दा बढी शल्यक्रिया गरिसकेको छ । अस्पतालमा ट्रमा सेवातर्फ मात्रै ६ जना विशेषज्ञ शल्यचिकित्सक (सर्जन) तथा ३ जना विशेषज्ञ एनेस्थेसियोलोजिस्ट आबद्ध छन् ।