भट्टराई भन्छन् : प्रचण्ड र बाबुरामको धार नै नेपालका लागि उपयुक्त

एटुजेड समाचार

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् ।

आज (शुक्रवार) काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुरमुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका हुन् ।

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले आगामी ५ वर्ष स्थिरता कायम गरी देश विकासका लागि खर्च गर्ने समय रहेको बताए ।

उनले नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको बताए । उनले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गरे ।

उनले भने, ‘अहिले प्रतिगमनको नेतृत्व गरिरहेको जुन शक्ति छ, त्यसले नेपालको वामपन्थी आन्दोलनको मूलधार पुष्पलालहरूले नेतृत्व गरेको जुन धार हो, त्योभन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ । हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू