विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

एटुजेड समाचार

चितवन – १० बुँदे नेपाल विपद् व्यवस्थापन घोषणापत्र जारी गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिकाको आयोजनामा स्थानीय सरकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ तालिम आयोजना भएको थियो । तालिममा भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपात जस्ता प्राकृतिक प्रकोपहरुबाट हुने हानी नोक्सानी र जोखिम कम गर्ने सम्बन्धमा छलफल गरिएको छ ।

तालिमका सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा प्रशिक्षण प्रदान दिईएको थियो ।

कार्यक्रममा पूर्व चेतावनी प्रणाली, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना,समावेशी बिपद जोखिम न्यूनीकरणलाई बिकास प्रक्रियामा मुल प्रवाहीकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि अन्तर स्थानीय तह सहकार्य, विपद् पूर्व तयारी र प्रतिकार्य योजना, विपद् जोखिम व्यवस्थापनका मानवीय सिद्धान्तहरु, मुलभुत मानवीय मापदण्ड र लैंगिक समानता र सामाजिक समावेशीकरण, खुल्ला क्षेत्रहरुको पहिचान र संरक्षण तथा शिविर समन्वय तथा शिविर व्यवस्थापन, जोखिमको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कार्ययोजनाहरुको मार्गचित्रको बारेमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

भरतपुर महानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार तालिममा विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य तथा अन्य क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियोे ।

भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेको समापन सत्र महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुको तर्फबाट दुर्गा सोडारी र बिष्णु प्रसाद भुजेलले बोलेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू