काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले जित्नुपर्ने बताएका छन्।
चुनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्तिका बेग्लाबेग्लै गठबन्धन बनेको पनि उनको भनाइ छ। अग्रगमन शक्तिहरूले संविधान, गणतन्त्र जोगाउँदै समृद्धिको दिशातर्फ अगाडि बढ्ने दाबी उनको थियो। काठमाडौं क्षेत्र नम्बर ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ मा हुने निर्वाचन सामान्य नभएको बताए।
‘यो चुनावमा दुइटा गठबन्धन आमानेसामने भएका छन्। एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर। एउटा संविधान मास्नेतिर र अर्को संविधान रक्षा गर्ने पक्षमा। त्यसकारण मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन,’ उनले भने, ‘देशले जित्ने हो कि होइन। संविधान र लोकतन्त्रले जित्ने हो कि होइन जनताले जवाफ दिने बेला भएको छ।’
उनले यी कुरा जनतालाई सत्ता गठबन्धनका नेताहरूले राम्रोसँग बुझाउनुपर्ने बताए। परिवर्तन र उपलब्धि रक्षा गर्नुपर्ने पनि उनले बताए। यो निर्वाचन अराजकता निम्त्याउने र देशलाई निरंकुशताका बाटोमा धकेल्ने शक्ति तथा संविधान र गणतन्त्र बचाउने शक्तिबीच लडाइँ भएको उनको भनाइ छ। उनले ब्याटल संविधान जोगाउने शक्तिले जित्नुपर्ने बताए।