चितवन – भरतपुरको पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारको काम सुरु भएको दुई वर्ष पुरा भएको छ । सडक विस्तारको लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो ।
सम्झौताको दुई वर्ष पुरा हुँदा ४५ प्रतिशत भौतिक प्रगति भएको छ । अहिले गोन्द्राङदेखि चौबिककोठीसम्म एक्सप्रेस वेको काम भइरहेको छ । एक्सप्रेस वेमा बेस र सभ बेसको काम भइरहेको छ । बेस र सभ बेसको काम सकिएपछि पहिलो लेयरको काम सुरु हुने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहले जानकारी दिए ।
उनका अनुसार गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल सम्म भने पहिलो लेयरको काम पनि सम्पन्न भइसकेको छ । उक्त खण्डमा दोस्रो र तेस्रो लेयर र टिक ड्रेनको काम बाँकी छ । केही दिनमै बसपार्कदेखि चौबिककोठीसम्म पहिलो लेयरको काम पनि सुरु हुनेछ । सर्भिसलेनमा भने गोन्द्राङदेखि चौबिसकोठीसम्म नै डिभिएमको पहिलो लेयरको काम सम्पन्न भइसकेको छ ।
एक्सप्रेस वेमा डिभिएमको पहिलो लेयरको काम सकिएपछि सर्भिसलेनमा दोस्रो र तेस्रो लेयरको काम हुने उनले बताए । त्यसपछि एक्सप्रेस वेमा पनि दोस्रो र तेस्रो लेयरको काम हुनेछ । ‘अहिले एक्सप्रेस वेमा बेस र सभ बेसको काम भइरहेको छ । सर्भिसलेनमा डिभिएमको पहिलो लेयरको काम भइसकेको छ । एक्सप्रेस वेमा बेस र सभ बेसको काम सकेर पहिलो लेयरको काम सकिएपछि सर्भिसलेन र एक्सप्रेस वेमा दोस्रो र तेस्रो लेयरको काम सुरु हुन्छ’, उनले भने । केही ठाउँमा ड्रेन कभर हाल्न बाँकी रहेको छ ।
तिहारपछि चौबिसकोठीदेखि पुल्चोकसम्मको काम पनि सुरु हुनेछ । सो खण्डमा बिजुली पोल, खाने पानीको पाइप र केही घर भत्काउन पर्नेछ । खाने पानीको पाइप हटाउनका लागि खाने पानी कार्यालयले टेन्डर आह्वान गरिसकेको छ । यस्तै विजुलीको पोल हटाउनका लागि विद्युत कार्यालयसँग पनि समन्वय भइरहेको इन्जिनियर शाहले बताए ।
तर भरतपुर ओरालोमा सडकमा पर्ने केही घर तत्काल नभत्काउनका लागि स्टे अर्डर जारी भएको उनले जानकारी दिए । ‘भरतपुर ओरालोमा विजुलीको पोल र खाने पानीको पाइप सार्न पर्नेछ । खाने पानीले केही दिन अघि पाइप हटाउन टेन्डर खोलेको छ । वियुतसँग पनि समन्वय भएको छ । सडकको छेउमा पर्ने केही घरको बिषयमा विवाद छ । तत्काल नभत्काउन स्टे अर्डर छ’, शाहले भने ।
थप केही विवाद नभए उक्त खण्डको काम रफ्तारमा अघि बढ्ने उनले बताए । उनका अनुसार लायन्सचोकदेखि पुल्चोकसम्म भौतिक संरचनाको काम धेरै छैन । त्यहाँ अहिले नै नाला रहेकोले फेरि बनाउनुपर्दैन । तर सो खण्डमा रहेका घरका सेफ्टी ट्याङ्की सडकमा नै पर्न सक्ने अनुमान गरिएको छ । यस बारे अध्ययनसँगै उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिहरुसँग समन्वय भइरहेको छ । त्यहाँ आवश्यक समन्वय र सहकार्य भए काम सम्पन्न गर्न समय नलाग्ने उनको भनाइ छ ।
गत स्थानीय तहको चुनाव, चाडपर्व तथा रसिया र युक्रेनको युद्धले काम केही प्रभावित भएको उनको भनाइ छ । ‘रसिया र युक्रेनको युद्धले थोरै प्रभावित भयो । मेसिनरी कामका लागि इन्धन चाहिन्छ । त्यो युद्धले इन्धनको समस्या देखिएको थियो । अलकत्रा पनि बाहिरबाट नै आयात गर्नुपर्ने भएकोले यसले पनि थोरै असर चाँही गर्यो । अब यावत समस्या नदेखिए कामले रफ्तार लिन्छ’, उनले भने । ड्रेन र साइटको कामले बढी समय खाने भन्दै अब काम रफ्तारमा अघि बढ्ने उनको भनाइ छ ।
तर मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनले पनि काम प्रभावित हुने उनले बताए । सम्झौता मिति सकिन अब चार महिना मात्रै बाँकी छ । अहिलेसम्मको कामको रफ्तार राम्रै मान्न सकिने उनको भनाइ छ । निर्माण कम्पनीले सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको उनले बताए । तर केही अवरोध भए बढीको यो आर्थिक वर्षसम्ममा सडक विस्तारको काम सम्पन्न हुने शाहले बताए ।
एक अर्ब १२ करोडको लागतमा पुल्चोक गोन्द्र्याङ सडक ६ लेनको बनाइदैछ । सडक निर्माणको जिम्मा पाएको इण्डो सगुन जेभीबुले २८ महिनाभित्र काम पूरा गर्ने गरी सम्झौता गरेको छ। सम्झौता अनुसार यही फागुन १० मा काम पूरा गरिसक्नुपर्नेछ ।
उक्त सडक देशकै नयाँ मोडेलमा बन्ने दाबी गरिएको छ । गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ। यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ। दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने छ । ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिँदै छ।
सडकको दायाँबायाँ ११.५ र ११.५ मिटरको कालोपत्र हुनेछ। त्यसका बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर रहनेछ भने तीनदेखि चार मिटरको फुटपाथ हुनेछ। बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक छ।
पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग अलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ। बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ।