चितवनमा यस वर्ष तिहारमा पाँच करोडको फूलका माला बिक्री हुने
चितवन – चितवनमा यस वर्षको तिहारमा फूलको कारोबार बढ्ने भएको छ । यस वर्ष तिहारमा मात्रै चितवनमा करिब पाँच करोडको मालाको कारोबार हुने अनुमान गरिएको छ ।
यस वर्ष जिल्लाभर करिब चार लाख सयपत्री माला खपत हुने फ्लोलिकचर एसोसिएसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले बताए । यस्तै करिब २० हजार मखमली फूलको माला खपत हुने श्रेष्ठको अनुमान छ । गत वर्ष करिब साँढे तीन करोडको मात्रै कारोबार भएको छ ।
यस वर्ष माग सँगै फूलको उत्पादन पनि बढेको छ । जिल्लाभर ४० बिगा क्षेत्रफलमा फूल खेती गरिएको छ । यसले ७० प्रतिशत माग धान्ने उनले बताए । करिब ३० प्रतिशत भने भारतबाटै आयात गर्नुपर्ने उनले बताए । फूल अभाव हुन नदिनका लागि ३० प्रतिशत भारतबाट आयात गरिने उनको भनाइ छ ।
उनका अनुसार चितवन फूलमा आत्मनिर्भर हुँदै गएको छ । गत चितवनमै उत्पादित फूलले ५० प्रतिशत हाराहारीमा मात्रै माग धानेको थियो । एसोसिएसनले सयपत्रीको माला खुद्रामा बिक्री गर्दा बढीमा एक सय रुपैयाँमा बिक्री गर्न आग्रह गरेको छ । यस्तै थोकमा ४० देखि ५० रुपैयाँसम्ममा बिक्री गर्न आह्वान गरिएको श्रेष्ठले बताए ।
उनका अनुसार मखमली फूलको माला पनि बढीमा ८० रुपैयाँमा बिक्री गर्न आह्वान गरिएको छ । गत वर्ष पनि एसोसिएसनले बढीमा ८० रुपैयाँसम्ममा माला बिक्री गर्न आग्रह गरेको थियो । तर केही कालाबजारीमा पल्केकाहरुले दुई सय देखि तीन सय रुपैयाँसम्म माला बिक्री गरेको पाईएको थियो । यसको तुलनामा भारतबाट आउने माला ५० देखि ६० रुपैयाँमा सहजै बजारमा पाउँदा यहाँको मालाको बजार बिग्रिएको श्रेष्ठको भनाइ छ ।
३५ देखि ४० प्रतिशत किसानले नियमित रुपमा फूल खेती गर्दै आएका छन् । तिहारका लागि मात्रै फूल खेती गर्ने ६० देखि ६५ प्रतिशत छन् ।
तपाइँको प्रतिक्रिया