म चुनाव जित्न मात्रै आएको होइन, काम गर्न आएको हुँ : रवि लामिछाने
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनले यस पटक परिवर्तनको घण्टी बजाउने विश्वास व्यक्त गरेका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लामिछानेले राम्रो मान्छे चुने देशमा परिवर्तन सम्भव छ भन्ने सन्देश चितवनले दिने बताए । उनले चितवन २ सबै भन्दा बढी मेहेनत गर्ने प्रतिनिधिको क्षेत्र बन्ने दाबी समेत गरे ।
‘यस पटक चितवनले यस्तो घण्टी बजाउने छ कि राम्रो मान्छे चुन्ने हो भने देशमा परिवर्तन सम्भव रहेछ भन्ने चितवनले प्रमाणित गर्नेछ, उनले भने, ‘सबै भन्दा बढी मेहेनत गरेन प्रतिनिधिको क्षेत्र बन्नेछ ।’
उनले आफू चुनाव जित्न मात्रै चितवन नआएको प्रष्ट पारे । ‘म चुनावमा मात्रै तपाईहरुसँग जोडिन आएको होइन । चुनावपछि अझ यो भन्दा बढी काम गर्न आएको हुँ । चुनाव जितिसकेपछि कसरी काम गर्न सकिन्छ ? सर्वसाधारणको सुख दु:खमा कसरी साथ दिन सकिन्छ ? भनेर नयाँ पुस्ताको प्रतिनिधिको रुपमा आउन चाहन्छु’, उनले भने ।
लामिछाने चितवन २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । उक्त क्षेत्र उनीसँगै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेल चुनावी मैदानमा छन् ।
तपाइँको प्रतिक्रिया