चितवन १ : बुर्लाकोटीको उम्मेदवारी निष्क्रिय, पौडेललाई समर्थन
चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका बागी उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।
बुर्लाकोटीले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै पार्टीको आग्रह बमोजिम आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । जीवनभर कांग्रेसप्रति गरेको त्याग, संघर्ष र मेहेनतका कारण पार्टीको उम्मेदवार हुँदा हुँदै आफू उम्मेदवार रहन नसकेको उनले बताएका छन् ।
पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले आजैबाट आफ्नो उम्मेदवारी निष्क्रिय भएको उनको घोषणा छ । ‘जीवनभर कांग्रेसप्रति गरेको त्याग, संघर्ष र मेहेनतका कारण मैले नेपाली कांग्रेसको उम्मेदवार हुँदा हुँदै स्वत्नत्र उम्मेदवार बनिरहन सकिन । पार्टीले मलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले चितवन १ मा रहेको मेरो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गर्दछु’, उनले भनेका छन् ।
उनले चितवन १ मा पार्टीका तर्फ उम्मेदवार रहेका डा विश्वनाथ पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता पनि जनाएका छन् । उनले आफ्ना सहयोगी तथा समर्थकहरुलाई पनि पौडेललाई जिताउन सहयोग गर्न आग्रह गरेका छन् ।
कांग्रेसले पौडेललाई उम्मेदवार बनाएपछि बुर्लाकोटीले पार्टीबाटै बागी उम्मेदवारी दिएका थिए । कांग्रेसले सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको थियो । ३१ असोजसम्म आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने कांग्रेसले बताएको थियो । सोही निर्णय अनुसार बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय परेका हुन् ।
तपाइँको प्रतिक्रिया