चितवनमा सयपत्री फूल : उत्पादन बढ्दै, आयात घट्दै
चितवन – तिहार नजिकिदै छ । तिहारलाई फूलैफूलको पर्व पनि भनिन्छ । ढकमक्क फूलेका सयपत्री मखमली फूल तिहारलाई सजाउन तयार हुँदैछन् ।
तिहारको समयमा फूलको माग बढी हुन्छ । चितवनको माग पूर्तिका लागि यस पटक उत्पादन बढाईएको छ । बिगत केही वर्षयता चितवनमा तिहारको लागि आवश्यक सयपत्री र मखमली फूलको उत्पादन बढ्दो छ ।
यस वर्ष चितवनमा उत्पादन हुने फूलले ७० प्रतिशत माग धान्ने बताईएको छ । चितवनमा फूल खेतीप्रति किसानको आकर्षण बढ्दो छ । तिहारलाई नै लक्षित गरेर पनि केही किसानहरु फूल खेती गर्छन् । यस कारण चितवनमा यस वर्ष फूलको उत्पादन बढेको फ्लोरिकल्चर एसोसिएसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठ बताउँछन् ।
यस वर्ष फूल समयमा नै फूलेको उनी बताउँछन् । उनका अनुसार करिब ६० प्रतिशत फूल समयमा नै फूलेका छन् । १० प्रतिशत मात्रै समय अगावै फूलेको थियो । ३० प्रतिशत भने आयात गर्नुपर्ने अवस्था रहेको उनी सुनाउँछन् । ‘चितवन ६० देखि ७० प्रतिशत फूलमा आत्मनिर्भर देखिन्छ । फूलहरु पनि १० प्रतिशत मात्रै अगाडि फूलेको छ । ६० प्रतिशत समयमै फूलेको छ । ३० प्रतिशत जति चाँही आयात नै गर्नुपर्ने अवस्था छ’, उनी भन्छन् ।
अघिल्ला वर्षहरुमा ४० देखि ५० प्रतिशत माग मात्रै यहाँको फूलले धान्ने अवस्था थियो । ५० देखि ६० प्रतिशतसम्म फूल भारतबाट आयात गर्नुपर्ने बाध्यता हुन्थ्यो । तर अहिले विस्तारै चितवनले फूल आयात विस्थापनको संकेत गरिरहेको छ । चितवनमा उत्पादन हुने फूलहरु मकवानपुर, काठमाडौं, पोखरा, दाङलगायतका जिल्लामा पनि आयात हुन्छ । तर तिहारको समयमा चितवनमा उत्पादन हुने फूल यही खपत हुने गरेको छ ।
भारतबाट फूल आयात हुने गरे पनि टिकाको दिनमा भने स्थानीय स्तरमा उत्पादित फूलनै प्रयोग गर्न उनको आह्वान छ । भारतबाट आयात हुने फूललाई अन्य दिन प्रयोग गरी टिकाको दिनमा भने चितवनमै उत्पादन हुने फूल प्रयोग गर्नु उपयुक्त हुने उनको बुझाई छ । ‘सकभर बाहिरबाट फूल आयात नगर्नुस् भन्ने हो । गर्नु परे डेकोरेसनको बेलामा ती फूल प्रयोग गरौं । टिकामा लगाउने मालाको लागि यहाँको फ्रेस फूल प्रयोग गरौं भन्दै हामीले आह्वान गरिरहेका छौं’, उनी भन्छन् ।
यस्तै अहिले भारतबाट आयात हुने प्लास्टिकका मालाको प्रयोग पनि कम हुँदै गएको उनी बताउँछन् ।चितवनका किसान फूलमा आत्मनिर्भर हुँदै गर्दा विचौलिया र कालाबजारीका कारण समस्या उत्पन्न हुने गरेको उनको गुनासो छ । केही विचौलियाले किसानसँग सस्तोमा फूल किनेर महङ्गोमा बेच्दा यहाँको फूलको बजार बिग्रिने गरेको छ ।
फ्लोरिकल्चर एसोसिएसनले सयपत्रीको माला ८० देखि एक सय रुपैयाँ भन्दा बढीमा बिक्री नगर्न आग्रह गरिरहेको छ । गत वर्ष पनि एसोसिएसनले बढीमा ८० रुपैयाँसम्ममा माला बिक्री गर्न आग्रह गरेको थियो । तर केही कालाबजारीमा पल्केकाहरुले दुई सय देखि तीन सय रुपैयाँसम्म माला बिक्री गरेको पाईएको थियो । यसको तुलनामा भारतबाट आउने माला ५० देखि ६० रुपैयाँमा सहजै बजारमा पाउँदा यहाँको मालाको बजार बिग्रिएको श्रेष्ठको भनाइ छ ।
वास्तविक किसानले थोकमा ४० देखि ५० रुपैयाँ र खुद्रामा ८० रुपैयाँमा बिक्री गर्छन् । तर तिहारका लागि मात्रै फूल रोप्ने र कालाबजारीमा पल्किएकाहरुका कारण भारतबाट हुने आयात रोक्न समस्या भएको उनी बताउँछन् । यस वर्ष पनि त्यस्तो कालाबजारी देखिए अर्को वर्ष आयात बढ्ने बाध्यात्माक अवस्था सृजना हुन सक्ने उनी बताउँछन् ।
३५ देखि ४० प्रतिशत किसानले नियमित रुपमा फूल खेती गर्दै आएका छन् । तिहारका लागि मात्रै फूल खेती गर्ने ६० देखि ६५ प्रतिशत छन् । सरकारले फूल खेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरे यसप्रतिको आकर्षण अझै बढ्ने उनको विश्वास छ । सरकारले अनुदान दिएर टनेलमा फूल खेती गर्न सके चितवन आत्मनिर्भर बन्ने उनी बताउँछन् । अहिले वार्षिक १० प्रतिशत फूल बिभिन्न कारणले बिग्रिने गरेका छन् । टनेलसहित प्रविधि प्रयोग गरेर फूल खेती गर्न सके उत्पादन बढ्नुका साथै फूल बिग्रिने समस्या पनि अन्त्य हुने उनको भनाइ छ । श्रेष्ठको प्रेमबस्तीमा उज्वल नर्सरी छ । उनले यस वर्ष पाँच कट्ठा क्षेत्रफलमा फूल लगाएका छन् ।
दुई दशकदेखि फूल खेती गर्दै आएका भरतपुर दिव्यनगरका दीपक पाख्रिन तिहारको समयमा भारतीय फूल प्रयोग नगर्न आग्रह गर्छन् । यो समयमा आयात हुने भारतीय फूल गुणस्तरहिन हुने उनी बताउँछन् । तिहार र अरु समयमा भारतबाट आउने फूलको गुणस्तर एउटै नहुने उनी बताउँछन् ।
उनका अनुसार यो समयमा भारतबाट आउने फूल कम गुण्स्तरको हुनुका साथै ताजा पनि हुँदैन । ‘तिहार र अरु बेलामा फरक-फरक हुन्छ । तिहार अघि सस्तो हुन्छ । सस्तो हुँदा ट्रकका ट्रक ल्याएर कोल्डस्टोर गरेर राख्छन् । त्यो फूल बाहिर निकाल्ने बित्तिकै कालो हुन्छ । त्यसैले तिहारमा भारतीय फूल प्रयोग गर्नु राम्रो हुँदैन’, उनी भन्छन् ।
व्यवसायीहरुले उपभोक्ता झुक्काएर भारतीय मालालाई नेपाली भनी बिक्री गर्ने गरेको पाइने समेत उनी बताउँछन् । तिहारमा भारतबाट फ्रेस माला नआउने भएकोले नेपाली माला नै प्रयोग गर्न उनको सुझाव छ । ‘तिहारमा भारतबाट फ्रेस माला आउँदैन । तिहारको समयमा भारतमै महङ्गो हुन्छ नि । अनी नेपालमा फ्रेस माला कसरी आउँछ ? उपभोक्ता सजग हुनपर्छ’, उनी भन्छन् । अहिलेको भारतीय माला थोरै तापक्रम बढ्ने बित्तिकै कालो हुने उनी बताउँछन् । फूल कालो हुने र माला सुतरीको डोरीमा बाँधेको देखिए खरिद नगर्न उपभोक्तालाई उनको आग्रह छ ।
चितवनमा नै उत्पादन बढ्दै गएकोले अब आयात गर्नुपर्ने अवस्था कम हुँदै गएको उनी बताउँछन् । तर चितवनमै उत्पादन हुने फूलमा हुने कालोबजारीले भने समस्या निम्तिने उनको भनाइ छ । अघिल्ला वर्षहरुमा ८० देखि एक सय रुपैयाँ पर्ने फूल केही कालोबजारीले दुई देखि तीन सय रुपैयाँमा बिक्री गरेको पाईएको भन्दै त्यस्तो नगर्न उनको आह्वान छ ।
पाख्रिन फूल खेतीको विषेशज्ञ नै हुन् । दुई दशक देखि फूल खेती गर्दै आएका उनको आफ्नै फर्म पाख्रिन एग्रोप फ्लोरा छ । व्यवसायिक फूल खेती गर्ने नेपालकै पुराना किसान पाख्रिन देशभरका किसानहरुलाई प्राविधिक सल्लाह सुझाव पनि दिन्छन् । उनले यस पटक तिहारलाई लक्षित गर्दै चार विगा क्षेत्रफलमा फूल खेती गरेका छन् ।
तपाइँको प्रतिक्रिया