काठमाडौं – सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सात वटै प्रदेशमा विशेष टोली परिचालन गरेको छ । राजस्व चुहावट तथा तस्करी नियन्त्रणबारे मातहतले गरेको कामको अनुगमन गर्न ‘विशेष’ टिम’ खटाइएको सशस्त्र प्रहरीका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका युनिटहरूको अनुगमन गरेर प्रतिवेदन बुझाउन सो टिमलाई आईजीपी राजु अर्यालले निर्देशन दिएका छन् ।
सीमा क्षेत्रका अवैध गतिविधिको नियन्त्रण र त्यहाँ भइरहेका कामबारे सुक्ष्म निगरानी र अनुगमन गरेर माथिल्लो निकायमा तत्काल रिपोर्टिङ्ग गर्न सो टोलीलाई भनिएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) र सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा प्रधान कार्यालयबाट खटिने सो टोलीलाई सशस्त्रका कर्मचारीले गलत काम गरेको भेटिए फिल्डमै कारवाही गर्न सक्ने अधिकार दिइएको छ ।
भर्खरै सशस्त्र प्रहरी बल, नेपालमा लागू भएको बडी मास इन्डेक्स (बिएमआई) को परिक्षा संचालन गर्न र सीमा क्षेत्रका गतिविधिहरुलाई सुक्ष्म ढंगले अनुगमन तथा निरीक्षण गर्न समेत सो टोली परिचालन गरिएको एकजना अधिकृतले जानकारी दिए । सो टोलीले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाको अवस्था त्यसबारे भइरहेका गतिविधिबारे पनि अनुगमन गर्नेछ ।
निर्वाचन सुरक्षाबारे निर्देशन दिन पनि सो टिमलाई कार्यादेश दिइएको छ । बर्षाको कारण सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरू कुन अवस्थामा छन् भन्नेबारे समेत टोलीले सम्पूर्ण रुपमा विवरण संकलन गर्ने छ ।सशस्त्रका युनिटहरूमा विभागीय नीति निर्देशन पालनाको अवस्थाबारे इकाइहरुमा नै पुगेर रेकर्ड सिष्टम, ड्यूटी परिचालन र शान्ति सुरक्षा कायम राख्ने कार्यमा गरेका कामबारे अनुगमन गरेर प्रधान कार्यालयमा प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।रासस