चितवन – चितवनमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढेका छन् ।
पछिल्ला केही दिनयता भरतपुर अस्पतालमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको चाप बढ्न थालेको हो। बिरामीको चापले गर्दा अस्पतालका बेडहरु भरिन थालेका छन् ।
अस्पतालको ५२ बेड क्षमताको मेडिसिन वार्ड, १२ बेड क्षमताको अब्जरभेसन वार्ड र ३५ बेड क्षमताको इमर्जेन्सी वार्ड डेङ्गु र स्क्रब टाइफसका बिरामीले भरिएका छन् । यि वार्डका अधिकांस बेडहरु भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले बताए ।
२० बेडको आईसियू, दश बेडको एनआईसियू र १० बेड क्षमताको डायलाइसिस वार्ड पनि सधैं जसो भरिने गरिने डा. पौडेलले बताए । अन्य बिरामीको चापलाई समेत मध्यनजर गर्दै अस्पताले अहिले ६ सय बेडबाट सेवा दिइरहेको छ । अस्पतालको क्षमता यस भन्दा बढाउन नसकिने उनले बताए ।
२०७५ साल फागुन ३ गते पाँच सय बेड क्षमताको संघीय अस्पतालमा स्तरोन्नति भए पनि जनशक्तिको अभाव रहेको उनको भनाइ छ । ‘२०७५ साल फागुन ३ गते यो अस्पताल पाँच सय बेडको संघीय अस्पतालमा स्तरोन्नति गरिए पनि जनशक्ति सरकारी तवरमा बढेको छैन । बिरामीको चाप अनुसार हामीले ६ सय बेडमा सञ्चालन गरिराखेका छौं, उनले भने, अब यो भन्दा बढाउने हाम्रो योजना छैन। अहिले सँख्याभन्दा गुणस्तरिय सेवा हाम्रो प्राथमिकतामा छ।’
२२ प्रतिशत बढीमा डेङ्गु
चितवनमा डेङ्गु परीक्षण गराएका मध्ये २२ प्रतिशत भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्षमा हालसम्म सात हजार १८४ जनामा डेङ्गु परीक्षण गरिएको छ । जसमध्ये एक हजार ६२१ जनामा संक्रमण पुष्टि भएको छ । यो २२ दशमलव ५६ प्रतिशत हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार संक्रमित एक हजार ६२१ मध्ये चितवनका मात्रै एक हजार ८० जना रहेका छन् । तीन सय ३५ जना अन्य जिल्लाको तथा दुई सय तीन जना ठेगाना नखुलेको संक्रमित रहेका छन् । यस्तै डेङ्गुबाट हालसम्म तीन जनाको ज्यान गइसकेको छ ।
एकैदिन १६१ जना थपिए
पछिल्लो २४ घण्टामा मात्रै चितवनमा एक सय ६१ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा एक सय ७५ जनामा डेङ्गु परीक्षण गर्दा एक सय ६१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
जसमध्ये चितवनका ९० जना रहेका छन् । २३ जना अन्य जिल्लाका तथा ४८ जनाको ठेगाना नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ । उता सोही अवधिमा डेङ्गुबाट एक जनाको मृत्यु भएको छ । मृतक नवलपरासीका हुन् ।