चितवन – चितवन प्रहरीले ठूलो परिणाममा लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण रघुनाथपुर ग्राम पञ्चायत रामगढवा पचौरीटोलका ३८ वर्षीय सुनिल कुमार, ५० वर्षीय राजन ठाकुर, पंकजचौक रक्सौल का १९ वर्षीय बिकास कुमार र नेपालको बारा गढीमाई नगरपालिका १९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेका छन् । उनीहरुलाई भरतपुर महानगरपालिका १० स्थित केन्द्रीय बस टर्मिनलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनीहरुको साथबाट डाईजोपाम एक हजार एम्पुल, व्युप्रिनर्फिन एक हजार एम्पुल, फेनारगन एक हजार एम्पुल, खैरो हेरोईन ५२ ग्राम १४० मिलिग्राम, चार थाना मोबाइल र एउटा महिन्द्रा कम्पनीको कार बरामत भएको कार्यालयका प्रहरी प्रवक्ता डिएसपी विजय पण्डितले बताए ।
आज बिहान ११:१० बजे वीरगन्जबाट नारायणगढतर्फ आईरहेको भारतीय कारमा लागु औषध ओसारोपोसार भई भन्ने सूचना आधारमा प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले डिएल ७ सिएम १५७६ नम्बरको कार चेकजाँच गर्दा उक्त लागु औषध फेला परेको थियो ।