न्यूयाेर्क – सयुक्त राष्ट्रसंघको महासभामा युक्रेनका चारवटा क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने रुसी प्रयासविरुद्ध अत्यधिक मतदान भएकाे छ । रुसको उक्त कार्यविरुद्ध राखिएको प्रस्तावलाई विश्वका १ सय ४३ वटा मुलुकले समर्थन गरेका छन् । चीन र भारतलगायत अन्य ३५ मुलुक भने मतदानमा अनुपस्थित रहे ।
रुसलगायत उत्तर कोरिया, सिरिया र निकारागुवाले सो मतदान अस्वीकार गरेका छन् ।प्रतीकात्मक भएपनि युक्रेनविरुद्ध आक्रमण सुरु भएयता रुसविरुद्ध पहिलो पटक यसरी सबैभन्दा बढी सङ्ख्यामा मत खसेको हो ।
गतसाता एक विशेष समारोहबीच क्रेमलिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिझ्या र खेर्सोनलाई रुसका भागमा गाभ्ने दस्तावेजमा हस्ताक्षर गरेका थिए । मस्कोद्वारा नियुक्त गरिएका ती चारवटै क्षेत्रका नेताहरूको उपस्थितिमा पुटिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
रुसमा गाभ्नुअघि ती क्षेत्रमा स्वघोषित जनमतसंग्रह गरिएको थियो । तर, पश्चिम जगत र युक्रेनले जनमतसंग्रहलाई वाहियात नाटकको संज्ञा दिएका थिए ।संयुक्त राष्ट्रसंघको प्रस्तावनाले अन्तर्राष्ट्रिय समुदायलाई रुसको कुनै पनि भूभाग कब्जा दाबीलाई मान्यता नदिन र ती भूमि तत्काल फर्काउन माग गर्न आह्वान गरेको छ ।भारत र चीन युक्रेन द्वन्द्वलाई लिएर तटस्थ बस्न चाहेका हुन् । १९ वटा अफ्रिकी मुलुक पनि यस मतदानबाट टाढै बसेका छन् । बीबीसीबाट