भ्रष्टचारको मुद्दा खेपिरहेको भन्दै विक्रम पाण्डेको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट

एटुजेड समाचार

चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार विक्रम पाण्डेको उम्मेदवारी खारेजको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।

अधिवक्ता अनिल आचार्यले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

रिटमा राप्रपाबाट चितवन ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार पाण्डेविरुद्ध भ्रष्टचार मुद्दा रहेकोको उम्मेदवारी खारेजको माग गरिएको उल्लेख छ । यो रिटमा असोज ३० गते सुनुवाइका लागि पेशी तोकिएको छ । चितवन ३ मा पाण्डेसँगै सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डा भोजराज अधिकारी, कांग्रेसकै बागी उम्मेदवार दिनेश कोइराला चुनावी मैदानमा छन् ।

कोइरालालाई नेकपा एमालेको समर्थन छ । एमालेले कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवार चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी बुधवार नै फिर्ता गराईसकेको छ ।

पाण्डेसँगै विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता भएको छ ।

प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरे पनि उनीहरु स्वच्छ छविका नभएको रिटमा उल्लेख छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू