चितवन – स्थानीय निर्वाचनमा पार्टीले गरेको गठबन्धनको विरुद्धमा लागेको भन्दै कारवाहीमा परेका कांग्रेस चितवनका पाँच जनाको कारवाही फुकुवा भएको छ ।
राष्ट्रिय सभाका पूर्व सांसद भिमबहादुर श्रेष्ठ, नेपाल तरुण दल चितवनका पूर्व अध्यक्ष शम्भू अर्याल, पूर्व जिल्ला सचिव आनन्द राउत, क्षेत्रिय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशिल सदस्य केशव पौडेलको कारवाही फिर्ता भएको भएको हो ।
सक्रियताको आधारमा केन्द्रको परिपत्र अनुसार उनीहरुको कारवाही फुकुवा भएको कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले जानकारी दिए । पर्टीको निर्णय विपरित वागी उमेदवारलाई सहयोग र समर्थन गरेको भन्दै पार्टीले उनीहरुलाई कारवाही गरेको थियो ।कसंग्रेस जिल्ला कार्यसमितिको बैठकले असोज १७ गतेको पार्टीको परिपत्र अनुसार फिर्ता गर्ने निर्णय गरेको प्रवक्ता अधिकारीले बताए ।
उनीहरुसँगै केन्द्रले विधानतः कारवाही गरेका तीन जनाको भने कारवाही फिता भएको छैन । भरतपुर महानगरपालिकाको निर्वाचनमा पार्टीले गरेको चुनावी गठबन्धनविरुद्ध उमेदवारी दिएका जगन्नाथ पौडेल, प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिन खरेलको भने फिर्ता भएको छैन । विधान अनुसार कारवाही भएकालाई केन्द्रले नै निर्णय गर्नुपर्ने प्रावधान भएकोले कारवाही फिर्ता नभएको अधिकारीले बताए ।