चितवन – चितवनका प्रतिनिधि सभा सदस्य उम्मेदवारद्धय डा विश्वनाथ पौडेल र रामप्रसाद न्यौपानेको उम्मेदवारी कायमै रहेको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेबाट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार न्यौपानेको उम्मेदवारी कायमै रहेको हो । पौडेल र न्यौपानेविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा बहाल रहेको भन्दै उम्मेदवारी खारेजको माग गर्दै कांग्रेसकै स्वतन्त्र उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उजुरी दिएका थिए । उता न्यौपानेले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समिति सदस्यबाट राजीनामा नदिई उम्मेदवार बनेको भन्दै स्वतन्त्र उम्मेदवार बासुदेव सापकोटाले उजुरी दिएका थिए ।
पौडेलले योजना आयोगको उपाध्यक्ष पदबाट तथा न्यौपानेले क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यबाट राजीनामा दिईसकेकोले उम्मेदवारी कायमै भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।