चितवन – भरतपुर अस्पतालले आकस्मिक कक्ष विस्तार गरेको छ । अस्पतालले नयाँ भवनबाट आकस्मिक सेवा सुरु गरेको हो ।
आधुनिक सेवासहित नयाँ भवनबाट आकस्मिक सेवा सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । अस्पतालले सोमबारबाट २० बेड क्षमताको आकस्मिक कक्ष सञ्चालन गरेको उनले बताए ।
नयाँ आकस्मिक सेवा भवन ५० बेड क्षमताको बनाउने उनले बताए । तत्काल भने २० बेडबाट सेवा सुरु गरिएको हो । करिब एक-डेढ महिनामा पूर्ण क्षमतासहितको सेवा सुरु हुने उनल जानकारी दिए । ‘अहिले २० बेडबाट सेवा सुरु गरेका छौं । एक-डेढ महिनामा पूर्ण क्षमतासहित सेवा दिन्छौं’, उनले भने ।
यस अघि अस्पतालले ३० वर्ष पुरानो भवनबाट सेवा दिँदै आएको थियो । त्यहाँबाट सेवा दिन समस्या भएकोले नयाँ आकस्मिक कक्ष विस्तार गरिएको उनले बताए । पुरानो भवनबाट सेवा दिन निकै समस्या भएकोले नयाँ भवन निर्माण गरिएको उनले बताए । ‘पहिला ३० वर्ष पुरानो भवनबाट सेवा दिन्थ्यौं । त्यहाँ निकै समस्या भएपछि नयाँ भवन बनाएका हौं’, उनले भने ।
केन्द्र सरकारको सात करोड बजेटमा उक्त भवन निर्माण गरिएको हो । अहिले अस्पतालमा दैनिक करिब एक सय जनाले आकस्मिक सेवा लिने गरेका छन् ।