शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी

एटुजेड समाचार

कालिकोट – कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो।

तिलाकर्णाली र कुकुर खोला दोभानमा रहेको घाटमा शव जलाउँदै गरेका बेला घटना भएको प्रहरीले जनाएको छ। सोमबार अबेरसम्म कोही पनि फेला परेका छैनन्। उनीहरू पहिरोसँगै तीलाकर्णालीमा बगेको हुन सक्ने स्थानीयवासी बताउँछन्। ‘गाउँका करिब ७० जना मलामी गएका थियौं। धेरै जनामाथि नै थिए। घाटमा शव जलाउँदै गरेका १३ जना पहिरोमा बगे। धेरैले भागेर ज्यान जोगायौं’, स्थानीय बासिन्दा कमल शाहीले भने।

बेपत्ता हुनेमा कालीबहादुर शाही, धनबहादुर शाही, छत्रजंग शाही, खगेन्द्र शाही, भेषबहादुर शाही, धन शाही, अलि शाही, खेमराज शाही, मानबहादुर शाही, मोतीलाल शाही, परबहादुर शाही, प्रशान्त शाही र नरेश शाही रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कालीकोटका प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष परबहादुर शाही पनि छन्। राँचुलीका २२ वर्षीय हेमराज शाहीको शनिबार मृत्यु भएपछि उनीहरू आइतबार मलामी गएका थिए। दागबत्ती दिँदादिँदै घटना भएको जनाइएको छ।

राँचुलीमै लालका शाही, बालीगाउँमा ममता विष्ट, जेनी विष्ट र ध्रुव विस्ट बेपत्ता भएका छन्। एक भारतीय नागरिक पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। दसैं मनाएर सुर्खेत फर्कंदै गरेका प्रहरी जवान पदम रावत पनि शेराखोलमा बगेर बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले पहिरोमा बेपत्ता २३ मध्ये सोमबार चार जनाको शव फेला परेको बताए। अझै मलामीसहित १९ जना बेपत्ता छन्। उनका अनुसार कर्णाली राजमार्गमा पहिरो खसेका कारण राहत र उद्धारमा कठिनाइ भइरहेको छ। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू