बाग्लुङ – बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुयाृउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पुर्याइदिएवापत दसैँ खर्च पाउथिन् । तर दुई वर्षयता उनलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके ।
घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आएकी विक अहिले पेशा परिवर्तन गर्ने सोचमा छिन् । “मैले माटो बेचेर खर्च चलाउँदै आएको १७ वर्ष भयो, दुई वर्षदेखि माटो बिक्री हुनै छाड्यो, १५–२० बोरा बेच्यो भने पाँच सय आम्दानी हुन्छ, धेरै मान्छेले माटोले घर लिप्नै (पोत्न) छाडिसके, अब माटो बेचेर ज्यान पाल्न गाह्रो छ, अरु नै पेशा गर्नुपर्ने भयो,” उनले भनिन् ।
दसैँ–तिहारबाहेक अरु बेला पनि गाउँलेका घरमा माटो पुर्याउने गरेकोमा अहिले वर्षमा दुई सय बोरा पनि बेच्न गाह्रो परेको गुनासो गर्दै उनले आफूले दसैँका बेलामा मात्रै पाँच सयदेखि आठ सय बोरा माटो गाउँलेका घरमा पुर्याउने गरेको र अहिले एक सय बोरा पनि बिक्री हुन छाडेको बताइन् ।
“मैले दसैँमा मात्रै माटो बेचेर रु १५ हजार देखि २० हजारसम्म आम्दानी गर्थेँ, अहिले वर्षभरिमा पनि रु १५ हजार कमाई हुँदैन, गाउँभरी टिन (जस्तापाता) र सिमेन्टबाट घर बन्न थाले, मान्छेहरूले मेरो माटो के किन्थे”, विकले भनिन्, “पहिले–पहिले रातोमाटो र सेतो कमेरोले घर पोत्दा गाउँ नै निकै राम्रो देखिन्थे, अहिले बजारबाट आउने रंगले कमेरो र रातोमाटो प्रयोग हुनै छोड्यो ।”
गाउँमा परम्परागत ढुङ्गा, काठ र माटोले बनेका घर विस्थापित हुन थालेपछि माटोले घर पोत्ने प्रचलन हराउँदै गएको निसीखोला–२ की फूलमाया कुँवरले बताइन् । “गाउँले घरआँगन लितपोत गर्न थाले भने दसैँ आएको आभास हुन्थ्यो, घर लिपेर चोख्याएपछि घटस्थापनाका दिनमा जमरा राख्ने गरिन्थ्यो, अहिले त बजारबाट रङ किनेर ल्याएर लगाउँछन्, माटो कमेरोको प्रयोग हुनै छोड्यो”, उनले भनिन्।
कुँवरले आधुनिकताले परम्परालाई विस्थापित गर्न थालेको भन्दै अहिले दसैँको रौनक पनि हराउँदै जान थालेको गुनासो गरिन् । माटो र कमेरो गाउँले जनजीवनसँग जोडिएको थियो भन्दै देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्थामा पुगेको गुनासो गरिन् ।
केही वर्ष अगाडिसम्म निसीखोला गाउँपालिका–४ को बडाचौरमा रातोमाटो ल्याउन आउनेको निकै भिड लाग्ने गथ्र्यो तर पछिल्लो दुई वर्षदेखि निकै कम भएको स्थानीय बलबहादुर खत्रीले बताए । पछिल्लो समय गाउँमा ढुङ्गे घरमासमेत कृतिम रङ लगाउन थालेपछि माटो र कमेरोको प्रयोग कम हुँदै गएको उनको भनाइ थियो ।
बागलुङका १० वटै स्थानीय तह खरको छानो मुक्त पालिका अभियानमा जुटेका छन् । सो अभियानअनुसार गाउँमा भएका पुराना खरका छाना हटाएर जस्तापाताले छाउन थालेका छन् । जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिकालगायत पालिकामा अहिले खरका घर पूर्णरूपमा विस्थापित भएका छन् । रासस